८ जेष्ठ २०८२, बुधबार
Follow us :

गोदावरी नगरपालिका–१ ललितपुरको पहिलो बालमैत्री वडा घोषणा, नगरभर विस्तारको तयारी

कान्तिपुर प्रेस

“सम्मानित बालापन, सुनिश्चित बालअधिकार – बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने मूल नाराका साथ गोदावरी नगरपालिका–१ ले औपचारिक रूपमा बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ। यससँगै, यो वडा ललितपुर जिल्लामै पहिलोपटक बालमैत्री वडा घोषित भएको हो।

वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री घोषणा कार्यविधि, २०७९ अनुसार निर्धारण गरिएका ५१ वटै सूचकहरू सफलतापूर्वक पूरा गरेको छ। तीमध्ये बाल संरक्षणका १४, सुरक्षा क्षेत्रका १०, बाल विकासका ६, सहभागिताका ६ र संस्थागत व्यवस्थापनतर्फका १५ सूचकहरू समेटिएका छन्।

वडा अध्यक्ष श्रीराज थापाका अनुसार, २०८० सालको पुस महिनादेखि अभियान सुरु गरिएको हो। वडा अन्तर्गतका ९ टोल र १,९०० घरधुरीमा करिब ८,३०० जनसंख्या बसोबास गर्छन्। अध्यक्ष थापाले बाल अधिकार प्रवर्द्धनमा निर्देशिका र कार्यविधिको पालना गर्दै योजनाबद्ध रूपमा काम अघि बढाइने स्पष्ट पारे।

अभियान शुभारम्भका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद उदयशमशेर राणाले बालमैत्री शासनले बालबालिकालाई सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले समाजको समस्या समाधानतर्फ प्रेरित गर्ने बालमैत्री वातावरणको आवश्यकता औंल्याए।

बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले ललितपुरको पहिलो बालमैत्री वडा बन्न सफल भएकोमा बधाई दिंदै अभियानलाई निरन्तरता दिन प्रदेश सरकारबाट आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराइने आश्वासन दिए।

गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले वडा नं. १ बाट सुरु गरिएको अभियानलाई नगरका सबै १४ वटै वडामा विस्तार गरिने योजना सार्वजनिक गरे। साथै, आगामी वर्षको बजेटमा बालमैत्री कार्यक्रमका पूर्वाधारलाई उच्च प्राथमिकता दिइने पनि उनले स्पष्ट पारे।

कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका उपप्रमुख रामलाल थिङ, गोदावरी उपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का तथा नगर बाल सञ्जालका अध्यक्ष लगायतले मन्तव्य राख्दै बालमैत्री अभियानको महत्वमा जोड दिए।

कार्यक्रमको सुरुआत गोदार गाउँस्थित गणेश मन्दिरबाट सुरु भएको प्रभातफेरी मार्फत गरिएको थियो, जसले गोदामचौरमा पुगेर सभाको रूप लिएको थियो।

 

५ बैशाख २०८२, शुक्रबार ०९:०९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०