गोदावरी नगरपालिका–१०, चापागाउँलाई “सम्मानित बालापन, सुनिश्चित बालअधिकार – बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने नारासहित बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ।
वडा अध्यक्ष शेखर न्यौपानेले आफ्नो वडालाई बाल विवाह र बाल श्रममुक्त वडा बनाउने प्रतिबद्धता व्यक्त गर्दै औपचारिक रूपमा बालमैत्री घोषणा गर्नुभयो। सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वडालाई निःशुल्क तथा आधारभूत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि, पूर्व अर्थराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले वडा नं. १० लाई बालमैत्री वडा घोषणा गर्दै बालमैत्री शासनले बालबालिकालाई सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समाजमा विद्यमान समस्याहरू समाधान गर्न यस्तो वातावरण आवश्यक रहेको धारणा राख्नुभयो।
गोदावरी नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री घोषणा कार्यविधि, २०७९ अनुसार निर्धारण गरिएका ५१ वटै सूचकहरू पूरा गरेका वडाहरूलाई मात्र बालमैत्री घोषणा गर्ने निर्णय गरेको छ। ती सूचकहरूमा बाल संरक्षण (१४), सुरक्षा (१०), बाल विकास (६), सहभागिता (६), र संस्थागत व्यवस्थापन (१५) सूचकहरू समावेश छन्।
वडा अध्यक्ष न्यौपानेका अनुसार, २०८० सालको पुस महिनादेखि सुरु गरिएको अभियानअन्तर्गत वडाभित्र १० वटा समुदायस्तरीय बाल क्लब, ३ वटा विद्यालयस्तरीय बाल क्लब र १ वटा वडा बाल सञ्जाल गठन गरिएको छ। वडा नं. १० मा हाल करिब ८,००० जनसंख्या र १,७३३ घरधुरी रहेका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, उपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, प्रवक्ता मिलन सिलवाल, नगर बाल सञ्जालका अध्यक्षलगायतले मन्तव्य राख्दै बालमैत्री अभियानको महत्वमा जोड दिनुभयो।
नगर प्रमुख गजेन्द्र महर्जनले ललितपुर जिल्लाको तेस्रो बालमैत्री वडा बन्न सफल भएकोमा बधाई दिँदै अन्य वडाहरूलाई पनि मापदण्ड पुरा गरेर बालमैत्री घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले आगामी बजेटमा बालमैत्री कार्यक्रमका पूर्वाधारलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय बाल क्लबहरू, शिक्षक, सामाजिक व्यक्तित्व तथा पत्रकारहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।