ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदका क्षेत्रमा काम गर्नेमा ललितपुर महानगर धेरै अगाडि छ भन्नुभएको छ।
राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणको आयोजना तथा ललितपुर महानगरपालिकाको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा ललितपुर नगरप्रहरी बलको कार्यालयमा भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिममा मन्तव्य राख्नुहुँदै कुनै पनि विपद लाइलाग्दा स्थानीय सरकार पहिला तयार हुनुपर्छ भन्दै त्यसका लागि प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो ।
” हामीले विपदमा काम गर्न नगरप्रहरीलाई स्रोत र साधन सम्पन्न बनाएका छौँ, आजको तालिमले पनि थप सहज बनाउँछ, सुक्ष्म तवरले प्रशिक्षण दिन सक्ने व्यक्तित्व हुनुहुन्छ, सिकेको कुरा व्यवहारमा लागू गर्न सक्नुस्, विपद जोखिम न्युनिकरण प्राधिकरणको सहकार्यमा भएको यो पहिलोपटक भएको तालिम हो, हामी यसलाई निरन्तरता दिन्छौं।विपदका क्षेत्रमाकाम गर्न ललितपुर महानगर धेरै अगाडि छ र प्रभावकारी ढंगले काम गर्छ।” उहाँले भन्नुभयो ।
उहाँले विपदभन्दा पहिला नै तयारी अवस्था बस्नुपर्छ भन्दै संवेदनशील भएर काममा ध्यान दिनुपर्छ भन्नेमा जोड दिनुभयो ।
“विपदका सम्पूर्ण अवयबहरु एकै ठाउँमा व्यवस्थापन गरेका छौँ, विपदका क्षेत्रमा ७५३ वटै पालिकामध्ये उत्कृष्ट हुन चाहान्छौं, के कति सुधार गर्नुपर्छ त्यो सुधार गर्न ध्यान दिनुपर्छ, विपदका क्षेत्रमा अन्तर्राष्ट्रिय प्रयोगलाई हामीले ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो ।
महानगरप्रमुख महर्जनले विपद जोखिमका क्षेत्रमा काम गर्नका लागि पूर्वाधार तयार गर्न यस वर्ष पाँच करोड बजेट छुट्याएका छौँ भन्दै महानगरका विभिन्न चार स्थानमा विपद जोखिम न्युनिकरणको लागि पूर्वाधार तयार गर्ने जानकारी गराउनुभयो।
“विपदका क्षेत्रमा काम गर्न धेरै कठिनाई छ, हामीले विपदमा परेकालाई सहयोग गर्दा सानोसानो कुरामा पनि कानूनी अड्चन हुँदा अख्तियारले दु:ख दिने गरेको छ, विपदमा हामीले जनताको चित्कारलाई हेरेर सहयोग गर्यौं, तर अहिले अख्तियारले दु:ख दिइरहेको छ, तर पनि हामीले इमानदारीपूर्वक काम गर्न रोकिनु हुँदैन। ” उहाँले भन्नुभयो ।
राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले तीन वटै सरकारलाई समन्वय गर्ने दायित्व प्राधिकरणको भएको भन्दै विपद जोखिम न्युनिकरणका लागि स्वयंसेवक परिचालनको नमूना परियोजनाका रुपमा यो तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले विपदका समयमा उद्धारका लागि स्थानीय समुदाय नै पहिलो उद्धारकर्ता हुने भन्दै त्यसका लागि स्वयंसेवक विकासका पाठ्यक्रम नै तयार गरेर अगाडि बढेको बताउनुभयो । हरेक टोलमा प्रहरी र सेना राख्न सम्भव नभएको भन्दै समुदायमा सीप, दक्षता अभिबृद्धि गरेर जोखिम कम गर्ने प्राधिकरणको ध्येय रहेको जानकारी गराउनुभयो।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठले समुदायस्तरबाट हुने उद्धार र प्रतिकार्य विपदमा प्रभावकारी हुने भन्दै समुदायलाई सक्षम बनाउन पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यो समुदायस्तरमा स्वयंसेवक परिचालनका लागि यो एउटा श्रृङखला भएको भन्दै यस तालिमले उत्पादन गर्ने प्रशिक्षकहरुले समुदायमा तालिम दिनसक्ने गरि तयार हुने विस्वास गर्नुभयो ।
महानगरका प्रमुख प्रशाशकीय अधिकृत रेखा दास श्रेष्ठले नेपालको भूगोल प्राकृतिक,सुन्दरतासंगसंगै विपदको जोखिमयुक्त क्षेत्रमा पनि रहेको भन्दै तीनै तहका सरकारको जिम्मेवारीमा रहेको विपद व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन यो तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विपद जोखिम न्युनिकरण सम्बन्धी स्रोत, साधन र उपकरण पर्याप्त हुँदाहुँदै पनि भएको जनशक्ति दक्ष भएन भने विपद जोखिम न्युनिकरणको काम प्रभावकारी हुन नसक्ने भन्दै यस्ता तालिमहरुलाई निरन्तरता दिने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका नगरप्रहरीलाई लक्षित गरेर सात दिनसम्म सञ्चालन हुने यो तालिममा विपद जोखिम न्युनिकरणका सन्दर्भमा आधारित रहेर प्रयोगात्मक र सैद्धान्तिक रुपमा अभिमुखीकरण हुने तालिमका संयोजक अतिरिक्त प्रहरी महानिरिक्षक ठूले राइले जानकारी गराउनुभयो।