बागमती गाउँपालिका वडा नं. १ स्थित घुसेलमा सम्पन्न दुईदिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा ३१५ जना स्थानीयवासीले विभिन्न रोगको स्वास्थ्य परीक्षण गराएका छन्। रोटरी क्लब अफ जावलाखेल मञ्जुश्रीको आयोजनामा, नेत्रधाम आँखा अस्पताल र अल्का अस्पतालको सहकार्यमा संचालन गरिएको उक्त शिविरमा आँखा, दाँत, मधुमेह, रक्तचाप, स्त्रीरोग तथा पाठेघरको क्यान्सरको जाँचलगायत सेवा प्रदान गरिएको थियो।
शिविरमा विशेषगरी आँखाको उपचारमा केन्द्रित भई मोतियाबिन्दुका बिरामीहरूको परीक्षण तथा उपचार गरिएको थियो। सो क्रममा १० जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको वडाध्यक्ष ज्ञान बहादुर लोले जानकारी दिए।शल्यक्रियापछि स्थानीय ४० वर्षीय सानुकान्छा स्याङ्तान, जो दुबै आँखाबाट दृष्टिविहीन थिए, पुनः पूर्णरूपमा देख्न सक्ने अवस्थामा पुगेका छन्।
शिविरमा महिलाको स्वास्थ्य परीक्षण पनि गरिएको थियो। आङ खस्ने समस्याबाट पीडित केही महिलाले उपचार गराए पनि धेरैले लाजका कारण आफ्नो समस्या लुकाउने प्रवृत्ति देखिएको वडाध्यक्ष लोले बताए।
शिविरमा पढ्ने चस्मा, आवश्यक औषधि, साबुन, ओआरएस, हर्लिक्स लगायतका सामग्रीहरू निःशुल्क वितरण गरिएको थियो। दन्त स्वास्थ्यको प्रवर्द्धनका लागि रोटरी क्लब अफ रुद्रमती र डाबर नेपालले दाँत माझ्ने ब्रस, पेस्ट र जुस सहयोगस्वरूप उपलब्ध गराएका थिए।
स्वास्थ्य परीक्षणका क्रममा दीर्घ रोग तथा जटिल आँखाको समस्या देखिएका बिरामीलाई आगामी दुई सातासम्म नेत्रधाम आँखा अस्पताल र अल्का अस्पतालमा निःशुल्क उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।
“उमेर ढल्किँदै गएपछि धेरै बृद्धबृद्धालाई अस्पतालसम्म पुग्न गाह्रो हुन्छ। अब उनीहरूलाई घरआँगनमै स्वास्थ्य सेवा दिइनु हाम्रो लागि ठूलो खुसीको कुरा हो,” वडाध्यक्ष लोले बताए।
ललितपुरको सातदोबाटोबाट करिब २२ किलोमिटर दक्षिणमा अवस्थित घुसेल गाउँमा हाल ४२३ घरधुरीमा २,१५२ जना स्थानीय बासिन्दाको बसोबास रहेको छ। यस्तो प्रकारको शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको स्थानीयहरूले बताएका छन्।