प्रथम विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता सम्मेलन सम्पन्न भएको छ ।
विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा नीतिगत तहबाट पैरवी गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय (केयू) को स्कुल अफ एजुकेशन अन्तर्गत “स्कुल काउन्सिल एण्ड साइकोलोजिकल वेल विइङ सपोर्ट सेन्टर” को आयोजनामा शुक्रबार ललितपुरमा सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै काठमाण्डौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले यस किसिमको कार्यक्रमले बालबालिकालाई सकरात्मक बाटोमा डोह्याउन सहज हुने बताउनुभयो।
“काठमाण्डौं विश्वविद्यालयले आयाोजना गरेको यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र समयसापेक्ष छ, यसले हाम्रो शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने छ।” उहाँले भन्नुभयो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति डाक्टर अच्यूत वाग्लेले यस किसिमको कार्यक्रम विद्यालयका विद्यार्थीहरुलाई अत्यन्तै आवश्यक भएको भन्दै रचनात्मक र सकरात्मक कार्यका लागि काठमाडौं विश्वविद्यालय सबै पक्षसंग सहकार्य गरेर काम गर्नको लागि सदैव तयार रहेको भाव व्यक्त गर्नुभयो ।
“दीगो खुसीको लागि स्व–रूपान्तरण” नारा दिइएको उक्त कार्यशालाका संयोजक उपप्राध्यापक श्रीकृष्ण वाग्लेले लगनशील प्राज्ञिक व्यक्तित्वहरुको अथक प्रयार र मिहिनेतले गर्दा कार्यक्रम सफल भएको बताउनुभयो ।
कार्यक्रममा प्रकाशित भइसकेका आठ वटा जर्नल आर्टिकलको विषयमा छलफल भएको कार्यक्रम संयोजन समितिका सदस्य उपप्राध्यापक चेतनाथ पन्तले बताउनुभयो । कार्यक्रममा करीब २०० जना अनुसन्धानकर्ता, विभिन्न विद्यालयका प्रिन्सिपल तथा विद्यार्थीहरुले सहभागिता जनाउनुभएको थियो। सम्मेलनको माध्यमबाट विद्यालय मनोविमर्श मानसिक सामाजिक तथा भावनात्मक आरोग्यता सम्बन्धमा नयाँ बहसको शुरूवात भएको जिकिर संयोजन समितिका सदस्य माधव खतिवडाको भन्नुभयो । समारोहमा स्कुल काउन्सलर एसोसिएसन नेपालको गठनको प्रस्ताव पेश गरिएको थियो । यसलाई गहन छलफल गरि अघि बढाउने कुरा सम्मेलनमाा छलफल भएको थियो ।
केयुको स्कुल अफ एजुकेशन अन्तर्गत हाल स्कुल काउन्सिलिङ एण्ड साईकोलोजिकल वेल विइङ विषयमा १ बर्षे र २ बर्षे एम ए, एमफिल तथा पिएचडी कार्यक्रम संचालन भइरहेको छ । सेन्टरले पहिलो पटक जर्नलसमेत विमोचन गर्ने तयारी गरेको छ ।—











