२६ माघ २०८२, आईतवार
Follow us :

कांग्रेस ललितपुरको स्मृति दिवसमा बी.पी. को आदर्श र समसामयिक राजनीतिक जिम्मेवारीमाथि बहस

कान्तिपुर प्रेस

ललितपुर — जननायक वी.पी. कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले पार्टी कार्यालय नखिपोटमा विचार गोष्ठीको आयोजना गर्‍यो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले वी.पी. कोइरालाको विचारलाई स्मरण गर्दै नेपालले स्वतन्त्र र स्वाधीन रहनु आवश्यक रहेको धारणा राख्नुभयो।

सिटौलाले कुनै पनि वैदेशिक हस्तक्षेप अस्वीकार्य रहेको वी.पी. को सोचप्रति जोड दिँदै उहाँले राष्ट्र र राष्ट्रियताको परिभाषा जनताको अधिकारसँग जोडेको स्पष्ट पार्नुभयो। उहाँले बी.पी. कोइरालाको नेतृत्वलाई गतिशील र दूरदर्शी बताउँदै लोकतन्त्रको पक्षमा कहिल्यै सम्झौता नगरेको तथ्य स्मरण गराउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले पञ्चायती कालमा कोइराला परिवारले खेलेको ऐतिहासिक भूमिका उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर विकास र समृद्धितर्फ अग्रसर हुनुपर्ने बताए। वर्तमान निर्वाचन प्रणालीले गठबन्धन अपरिहार्य बनाएको उनले स्पष्ट गरे।

राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले वी.पी. को योगदानलाई वर्षमा दुई दिनमात्र होइन, हरेक दिन व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। यस्तै, पूर्वसदस्य धना खतिवडाले नेपाली कांग्रेसको नेतृत्वले द्वन्द्वको अन्त्य र संविधान निर्माणमा उल्लेखनीय भूमिका निभाएको स्मरण गर्दै वी.पी.को कल्पनानुसारको शासन व्यवस्थामा ध्यान दिनुपर्ने बताए।

बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले पार्टीभित्र स्पष्ट दृष्टिकोण, अनुशासन र प्रशिक्षणको आवश्यकता औंल्याउँदै नेतृत्वले भ्रम चिर्दै जनविश्वास कायम गर्नुपर्ने धारणा राखे। जिल्ला उपसभापति सुदर्शन घिमिरेले हुँदा खाने वर्गको पक्षमा ध्यान केन्द्रित गर्दै सुधार अभियानमा सबै कार्यकर्तालाई सक्रिय हुन आह्वान गरे।

नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले वी. पी.को विचार, सिद्धान्त र बिचारलाई अनुशरण गर्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताउँदै सबै तह नेतृत्व वर्गलाई बैमनस्यता, द्वेष त्यागेर अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले कुनै समस्या वा कुनै कारणले पार्टीको क्रियाशील सदस्यता नविकरण गर्न छुटेका पार्टीका आस्थावान व्यक्तिहरुलाई नविकरणका लागि पार्टीले अवसर दिएको बताउँदै एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले वी.पी. कोइरालाको दूरदर्शितालाई अंगीकार गर्दै पार्टी एकता सुदृढ गर्दै राष्ट्रहितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

यो विचार गोष्ठीमार्फत कांग्रेस नेताहरूले वी.पी. कोइरालाको दर्शनलाई वर्तमान राजनीतिक सन्दर्भमा पुनर्परिभाषित गर्दै जनउत्तरदायी नेतृत्व निर्माणको आवश्यकता औंल्याएका छन्।

७ श्रावण २०८२, मंगलवार २१:२७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०