शेर्पा पर्यटन व्यवसायी संघ नेपालले आगामी श्रावण २४ गते, शनिबार राजधानीको काठमाण्डौं स्थित शेर्पा पार्टी प्यालेसमा भव्य कार्यक्रमका साथ सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।
संघका सदस्य तथा मिडिया संयोजक सोनाम याङजी शेर्पाका अनुसार, वार्षिक साधारण सभाको अवसरमा संस्थाको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया समेत सम्पन्न हुनेछ । नयाँ नेतृत्वको चयनसँगै संघको भावी कार्यदिशा र रणनीतिक योजनाबारे पनि छलफल गरिने बताइएको छ ।
साधारण सभाको विशेष आकर्षणस्वरूप शेर्पा समुदायका वरिष्ठ पर्यटन व्यवसायीहरूलाई विशेष अवार्डसहित सम्मान गरिने कार्यक्रम तय गरिएको छ । त्यस्तै गरी, सगरमाथा आरोहण गरी देश र समुदायको गौरव बढाएका विशिष्ट आरोहीहरूलाई समेत सम्मान गरिने संघले जनाएको छ ।
यसै क्रममा, वार्षिक चार पत्रकार सम्मान कार्यक्रम अन्तर्गत शेर्पा समुदाय र गैर–शेर्पा समुदायका गरी ४ जना पत्रकारहरूलाई समेत पर्यटन क्षेत्रप्रतिको विशिष्ट योगदानका लागि सम्मान गरिने कार्यक्रम रहेको संयोजक शेर्पाले जानकारी दिइन् ।
शेर्पा पर्यटन व्यवसायी संघ नेपालले स्थापना कालदेखि नै शेर्पा समुदायभित्रका पर्यटन व्यवसायीहरूलाई एकीकृत गर्दै उनीहरूको हकहितको संरक्षण, गुणस्तरीय पर्यटन प्रवद्र्धन, तथा दिगो विकासको पक्षमा क्रियाशील रहँदै आएको छ । साथै, संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली पर्यटनको पहिचान र बजार प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्दै आएको छ ।
सातौँ साधारण सभा संघको विगत सात वर्षको उपलब्धि, चुनौती र भावी योजनालाई सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ ।











