ललितपुर । पछिल्ला दिनमा Gen-Z युवाहरूले सञ्चालन गरेको आन्दोलनका क्रममा हिंसात्मक गतिविधि, तोडफोड र आगजनी बढेपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले संयम र संवादमार्फत समाधान खोज्न सबै पक्षलाई अपिल गरेको छ।
नेपाली कांग्रेस ललितपुरले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिएको छ। साथै स्वयम्भूनाथ, सहिदद्वार, सहिद भवन, राष्ट्र बैंक, त्रिभुवन विमानस्थल, निजी निवास, सरकारी कार्यालय, सुरक्षा निकायका संरचना लगायतका सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति गम्भीर आपत्ति प्रकट गर्दै दोषीलाई कारबाही गर्न माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “२०७९ र २०८१ मा भएका घटनाबाट सिकेर देश शान्ति र पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा पुनः अशान्ति सिर्जना हुनु दुःखद हो। सबै पक्षले संविधान २०७२ को मर्म अनुसार लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै समाधानको बाटो संवादमै खोज्नुपर्छ।”
कांग्रेस ललितपुरले युवाहरूका जायज मागलाई सम्बोधन गर्ने वातावरण बनाउन आवश्यक भएको उल्लेख गर्दै, देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र लोकतान्त्रिक मूल्य अक्षुण्ण राख्दै अघि बढ्न सबैलाई सचेत रहन आग्रह गरेको छ ।












