६ माघ २०८२, सोमबार
Follow us :

देशभर माग भए पनि ४ कारणले रोक्यो बालेनलाई सिंहदरबार छिर्न

कान्तिपुर प्रेस

काठमाडौं ।
जेनजी आन्दोलनले पुरानो सत्ता ढालिदिएपछि नयाँ प्रधानमन्त्री को हुने भन्ने प्रश्नमा देशैभरि चर्चा चल्यो । धेरैको नजर काठमाडौं महानगरका मेयर बालेन साहमाथि थियो । आन्दोलनमा अग्रपंक्तिमा रहेका जेनजीहरूको पनि ठूलाे माग यही थियो— “अब बालेनलाई प्रधानमन्त्री बनाऔं !”तर, सबैलाई आश्चर्यचकित पार्दै बालेन सिंहदरबार छिर्न तयार भएनन् । बरु उनले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन घोषणा गरे । यही घोषणाले चौतर्फी मागलाई अझ प्रबल बनाउँदै कार्कीलाई प्रधानमन्त्री बन्ने बाटो सजिलो बनाइदियो ।

अब प्रश्न उब्जिएको छ— देशको नेतृत्व लिन बलियो आधार भएकै बालेन किन पछि हटे ? उनी नजिकका स्रोतका अनुसार बालेनलाई प्रधानमन्त्री बन्न नदिने चार ठूला कारण थिए ।

१. जर्जर अर्थतन्त्र र पुनर्निर्माणको भारी जिम्मेवारी

जेनजी आन्दोलनले देशलाई खर्बौं नोक्सानी पुर्‍यायो । सरकारी संरचना ध्वस्त छन् । पुनर्निर्माणका लागि अथाह स्रोत चाहिन्छ, तर स्रोत जुटाउन सजिलो छैन । बालेनले महसुस गरे— “२–४ महिना प्रधानमन्त्री भएर असफल हुने भन्दा सुरुदेखि नै हात झिक्नु नै ठीक”

२. आफ्नै बोली उल्टो भारी

विगतमा उनले “सिंहदरबार जलाइदिन्छु” भन्ने आक्रामक अभिव्यक्ति दिएका थिए । अहिले सिंहदरबार नै ध्वस्त भएको सन्दर्भमा यदि प्रधानमन्त्री भए प्रश्न उठ्थ्यो— “तपाईँको चाहना त पूरा भयो नि ?” यस्तो प्रश्नको सामना गर्नुपर्ने भयले पनि उनले कुर्सीको मोह त्यागे ।

३. कूटनीतिक अनुभवको कमी

भारत–चीनको चेपुमा परिरहेको नेपाललाई अमेरिका–युरोपसम्मले खेलिरहेको अवस्था छ । यस्तो जटिल कूटनीतिक सम्बन्ध सम्हाल्न उच्च क्षमताको खाँचो पर्छ । स्थानीय तहको प्रमुखबाटै देशको कार्यकारी प्रमुखमा पुग्दा त्यस्तो हैसियत आफूमा छैन भन्ने आत्मबोध उनले गरेका रहेछन् ।

४. ‘राजा शैली’ स्वभाव र मनमौजी जीवनशैली

बालेन आफैंलाई जनप्रतिनिधि भन्दा बढी ‘राजा’ जस्तो देखाउँछन् । जनतासँग भेटघाट, छलफल गर्ने बानी कम छ । आफ्नै निर्णय सुनाउने, अरुको कुरा नमान्ने प्रवृत्ति छ । यसरी जीवनशैली चलाएका व्यक्तिलाई प्रधानमन्त्री भएपछि जनता, कूटनीति र जिम्मेवारीले बाँधिदिन्छ भन्ने बुझेर उनले हात झिके । बरु महानगरको “मनमौजी मेयर” बनेर बस्नु नै सजिलो ठाने ।

२८ भाद्र २०८२, शनिबार ०७:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०