२ बैशाख २०८३, बुधबार
Follow us :

बागमती स्विट्सको बदाममा कीरा, उत्पादन र बिक्रीमा रोक

कान्तिपुर प्रेस

काठमाडौं– काठमाडौं महानगरपालिका ११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो ।

आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । विभागका अनुसार अनुगमनका क्रममा ड्राइफुड्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ । टोलीले कीरा लागेको करिब ५ किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ ।

खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ अत्यन्तै न्यून र असन्तोषजनक पाइएको छ । त्यसैगरी, उद्योगमा कीट नियन्त्रणको व्यवस्थापन प्रभावकारी नभएको पाइएको छ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बागमती स्विट्सको कारखानाबाट हुने उत्पादन र बिक्री वितरणलाई अर्को आदेश नभएसम्मका लागि पूर्ण रूपमा रोक्का गर्ने आदेश दिएको छ ।

थप अनुसन्धानका लागि टोलीले कीरा परेको बदाम र ड्राइफुड्स मिक्सको नमुना संकलन गरी प्रयोगशाला पठाएको छ । विभागकी प्रवक्ता डा। बाल कुमारी शर्माका अनुसार उद्योगलाई उल्लेखित कैफियतहरू सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सार्वजनिक गरेका तस्बिरहरूमा उद्योगको भान्सा र भण्डारण कक्ष अत्यन्तै फोहर देखिएको छ भने कामदारहरूले न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरेको देखिन्छ ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता उद्योगहरूमाथि निगरानी बढाइने विभागले जनाएको छ ।

२ बैशाख २०८३, बुधबार १४:५१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०