४ बैशाख २०८३, शुक्रबार
Follow us :

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

कान्तिपुर प्रेस

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।

शुक्रबार सभापति गगन थापाको तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालसहितका अधिवक्ताले बहस गरे ।

उता सभापति पद खोसिएका रिट पक्षधर देउवाबाट अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीसहितले बहस गरे । दुवै पक्षको बहस सकिएपछि शुक्रबार नै यस रिटमा आदेश आउने सम्भावना छ ।

यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले थापा पक्षलाई वैधानिकता दिएका थिए । सर्वोच्चले अन्तरिम आदेशमा थापा पक्षलाई वैधानिकता दिए पनि शुक्रबार यस मुद्दाको अन्तिम छिनोफानो हुँदैछ।

गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसका विरुद्ध सर्वोच्च पुगेको थियो ।

निर्वाचन आयोगले गत फागुन २१ गते थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

२०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भएको सुनुवाइले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितका विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेपछि चैत २१ का लागि पेसी तोकिएको थियो । उक्त पेसी सरेर बिहीबारका लागि तय भएको थियो ।

बिहीबार सुनुवाइ नसकिएपछि यो रिटमा शुक्रबारका अन्तिम फैसला गर्ने तयारी भएको हो ।

४ बैशाख २०८३, शुक्रबार १९:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०