काठमाण्डौ – बाँकेमा सिँचाइ सुविधाको विस्तारसँगै किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता हटेको छ ।
विगतमा बर्खेधान स्याहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्याहारेपछि आलु वा तोरीखेती लगाउने र त्यसलगत्तै वसन्ते मकैखेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो ।
बर्खेधान भित्र्याइसकेपछि गहुँखेती गर्ने किसान दुई बालीमा सीमित हुनुपथ्र्यो तर अहिले गहुँखेतीको सट्टा तोरी वा आलुखेती गर्ने किसानले मकैखेती गर्न समेत भ्याएका छन् ।
बाँकेमा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकैखेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उहाँको भनाइ छ । बाँकेमा बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँखेती २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५००, आलु तीन हजार २५०, तोरी छ हजार ५३०, हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ ।
सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि खेती गर्न किसानलाई सहज हुँदै आएको छ । किसानलाई सिँचाइको अभाव हुन नदिन खेती गर्ने समयमा सिक्टाले नहरमा पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैया राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ ।











