ललितपुरको गोदावरी नगरपालिका–११ स्थित कञ्चन माध्यमिक विद्यालयमा शिक्षकहरूको पेशागत विकास सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ। कार्यशालाको पहिलो दिन विभिन्न शैक्षिक विषयमा विज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका छन्।
विद्यालयका प्रधानाध्यापक नवराज महतका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन र विद्यालयको वार्षिक शैक्षिक योजनाअनुसार उक्त कार्यशाला आयोजना गरिएको हो।
पहिलो दिनको कार्यक्रममा पाठ्यक्रम, पाठ्यसामग्री तथा विद्यार्थी मूल्याङ्कनका विषयमा लेखक तथा प्रशिक्षक महेन्द्र विष्टले प्रशिक्षण दिनुभयो। त्यसैगरी शैक्षिक योजना व्यवस्थापन र नेतृत्व विकास सम्बन्धी सत्रमा प्रशिक्षक तथा लेखक नवराज सञ्जेलले सहजीकरण गर्नुभयो।

कक्षा व्यवस्थापन र सिकाइ प्रक्रिया सम्बन्धी विषयमा प्रशिक्षक माधवप्रसाद अधिकारीले प्रशिक्षण दिनुभएको थियो। सहभागी शिक्षकहरूले कार्यशालाले आफ्नो पेशागत क्षमता वृद्धि गर्नुका साथै शिक्षणमा प्रेरणा मिलेको बताएका छन्।
कार्यशालाको दोस्रो दिन कक्षाकोठामा अंग्रेजी वातावरण निर्माण, शिक्षण सिकाइमा प्रविधिको प्रयोग तथा हस्तलेखन सम्बन्धी विषयमा विशेष प्रशिक्षण हुने प्रधानाध्यापक महतले जानकारी दिनुभयो। उक्त सत्रहरूमा प्रेमप्रकाश भट्टराई, टिकाराम गौतम र यानी धितालले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।











