१३ बैशाख २०८३, आईतवार
Follow us :

ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथ आज एक दिन सुन्धारामै रहने

कान्तिपुर प्रेस

काठमाण्डौ – ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ र मिननाथको रथ आज एक दिन सुन्धारामै रहने छ । पुलचोकबाट मंगलबार तान्न शुरू गरिएको रथ गा:बहाल, मंगलबजार हुँदै हिजो तेस्रो दिन सुन्धारा पुर्‍याइएको हो ।

सुन्धारामा पुगेको दुइटै रथलाई एक दिन विश्राम दिने परम्परा छ । यो दिन देवतालाई आराम गराउने र विशेष पूजा गर्ने समय मानिन्छ । यो चलन धेरै पुरानो  र पुस्तौँदेखि निरन्तरता दिइँदै आएको छ ।

दोश्रो विश्राम स्थलमा रथ पुर्‍याइएपछि बाराही गुठियारले पनिस्था पूजा गर्नु पर्ने परम्परा अनुसार आज सुन्धारामा होमसहित पनिस्था पूजा हुने रथ निर्माणमा संलग्न बाराही नाइके दिल कुमार बाराहीले बताउनु भयो । उहाँका अनुसार जात्राको क्रममा कुनै विध्नबाघा नआओस्, रथका कारणबाट कसैलाई केही क्षति नहोस् भनेर पनिस्था पूजा गरिन्छ ।

भोलि रथलाई सुन्धाराबाट लगनखेलतर्फ लैजानको लागि चाःबहासम्म तानिनेछ । त्यसपछि लगनखेलमा पुर्‍याएर नरिवल खसाल्ने जात्रा हुन्छ भने त्यसपछि जावलाखेल लानका लागि साइत हेरेर त्यहाँ लगिनेछ । पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रामध्ये एक हो ।

लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ ।

११ बैशाख २०८३, शुक्रबार ०९:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०