जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको थियो ।
कार्यक्रमअन्तर्गत महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकाका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गरिएको जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयालले जानकारी दिए । ग्रामीण क्षेत्रमा लुकेर रहेका पर्यटन स्रोतहरूको पहिचान, संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

कालेश्वर महादेव मन्दिर : जनविश्वासअनुसार स्वस्थानी व्रतकथासँग सम्बन्धित यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ । प्याङगाउँस्थित आंगःछे देवस्थलमा प्रत्येक महिनाको औँसी र चतुर्थीमा विशेष पूजा हुने परम्परा रहेको छ । समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित उक्त मन्दिर प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने मेलाका कारण पनि चर्चित छ ।
अवलोकनका क्रममा महांकाल गाउँपालिकामा रहेको प्रसिद्ध कालेश्वर महादेव मन्दिर पुगेका सहभागीहरूले धार्मिक आस्था र ऐतिहासिक महत्वबारे जानकारी लिएका थिए । स्थानीय जनविश्वासअनुसार स्वस्थानी व्रतकथासँग सम्बन्धित यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ । समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित उक्त मन्दिर प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने मेलाका कारण पनि चर्चित छ, जहाँ विभिन्न जिल्लाबाट हजारौँ भक्तजन पुग्ने गर्दछन् ।
प्याङगाउँस्थित आंगःछे देवस्थलमा प्रत्येक महिनाको औँसी र चतुर्थीमा विशेष पूजा हुने परम्परा रहेको छ । उक्त स्थलमा कडा धार्मिक नियमहरू लागू गरिएका छन्, जहाँ सीमित व्यक्तिहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ ।

कोन्ज्योसोम गाउँपालिकामा निर्माण गरिएको कोन्ज्योसोम प्रतिमा : प्रतिमा क्षेत्रकै गौरवको आयोजना हो, जसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ । फूलबारी डाँडाबाट हिमाली शृङ्खलाहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ।
यसैगरी, कोन्ज्योसोम गाउँपालिकामा निर्माण गरिएको कोन्ज्योसोम प्रतिमाको पनि अवलोकन गरिएको थियो । गाउँपालिका अध्यक्ष कृष्णमान लामाका अनुसार उक्त प्रतिमा क्षेत्रकै गौरवको आयोजना हो, जसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ । फूलबारी डाँडाबाट हिमाली शृङ्खलाहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको उनले बताए ।
त्यस्तै बागमती गाउँपालिकाको भट्टेडाँडास्थित मैरेभिरको राडर क्षेत्र पनि अवलोकन गरिएको थियो । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यस क्षेत्रलाई साहसिक पर्यटन, दृश्यावलोकन तथा प्राकृतिक भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

कार्यक्रममा सहभागीहरूले दक्षिण ललितपुरका यस्ता ओझेलमा परेका सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि राज्य, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला जिल्ला समन्वय समिति ललितपुरका प्रवक्क्ता दिनेश घोरासाइनेले ग्रामीण पर्यटनको विकासले स्थानीय रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

ग्रामीण पर्यटनलाई दीगो र व्यवस्थित रूपमा अघि बढाउन पूर्वाधार विकास, पहुँच मार्ग विस्तार, प्रभावकारी प्रचारप्रसार तथा स्थानीय जनसहभागिता अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी हरिनारायण बेल्वासेले गरेका थिए ।





default










