१४ बैशाख २०८३, सोमबार
Follow us :

मालीमा देशव्यापी भीषण आक्रमण, रक्षामन्त्रीको मृत्यु

कान्तिपुर प्रेस

काठमाडौं । अफ्रिकी देश मालीका विभिन्न सहरहरूमा शनिबार र आइतबार जिहादी लडाकू र पृथकतावादी समूहहरूले एकैसाथ शृंखलाबद्ध आक्रमणहरू गरेका छन् । उक्त आक्रमणका क्रममा मालीका रक्षामन्त्री सादियो कामाराको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सरकारका प्रवक्ताका अनुसार, मन्त्री कामाराले आक्रमणकारीहरूसँग केही समय दोहोरो भिडन्त गरेका थिए । केही लडाकूलाई मार्न सफल भएका थिए । तर, गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसलाई विगत धेरै वर्षयताकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमण मानिएको छ । अल–कायदासँग आबद्ध लडाकूहरूले रक्षामन्त्रीको निवासमा विस्फोटक पदार्थले भरिएको ट्रक ठोक्काएर आत्मघाती हमला गरेका थिए ।

यस आक्रमणमा मन्त्री कामाराका परिवारका तीन सदस्य तथा नजिकैको मस्जिदमा रहेका केही भक्तजनहरूको पनि मृत्यु भएको छ ।

राजधानी बामाको बाहिर रहेको काटी सैन्य आधार शिविरमा पनि आक्रमण भएपछि मालीको सैन्य जुन्टाका प्रमुख जनरल असिमी गोइटालाई सुरक्षित स्थानमा सारिएको छ । उनको निजी निवासलाई पनि विद्रोहीहरूले निसाना बनाएका थिए ।

मालीको उत्तरी क्षेत्रमा सक्रिय पृथकतावादी समूह ‘अजावाद लिबरेसन फ्रन्ट’ले महत्त्वपूर्ण सहर किडाललाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

किडालमा तैनाथ मालीको सरकारी सेना र रूसी निजी सैन्य समूहबीच भिडन्त भएपछि उनीहरू त्यहाँबाट पछि हट्न सहमत भएका छन् ।

“किडाल अब स्वतन्त्र छ,” अजावाद लिबरेसन फ्रन्टका प्रवक्ताले किडालबाट सरकारी तथा रूसी सेना पूर्ण रूपमा बाहिरिएको र अब उक्त क्षेत्र आफ्नो नियन्त्रणमा रहेको बताएका छन् ।

माली हाल दुई प्रमुख प्रकारका विद्रोहको सामना गरिरहेको छ । एकातर्फ अल–कायदासँग आबद्ध जिहादी समूहहरूले मुख्यतया मध्य तथा दक्षिणी क्षेत्रमा आत्मघाती तथा छापामार आक्रमण गरिरहेका छन् भने अर्कोतर्फ ‘अजावाद लिबरेसन फ्रन्ट’ले उत्तरी मालीमा पृथक ‘अजावाद’ राज्यको माग गर्दै सशस्त्र विद्रोह जारी राखेको छ ।

१४ बैशाख २०८३, सोमबार ०८:०९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०