१५ बैशाख २०८३, मंगलवार
Follow us :

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू

कान्तिपुर प्रेस

काठमाडाैं । सरकारको निर्णय अनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा मंगलबारदेखि शुरू हुँदैछ ।

यस अघि सरकारले वैशाख १५ अर्थात साेमबारदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । साेही निर्णय अनुसार औपचारिक रूपमा मंगलबारदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो ।

विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो ।

तर सरकारको निर्णय अमान्य रहेको भन्दै काठमाण्डौ उपत्यका मेयर्स फोरमले गएको वैशाख ११ गतेदेखि नै नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र मंगलबारदेखि नियमित पठनपाठन शुरू गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गरेको थियो । यसबाट विद्यार्थी भर्ना अन्योल भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबारदेखि नै भर्ना थाल्न र वैशाख २१ गतेदेखि पठनपाठन शुरू गर्न भनेको छ ।

सरकारको निर्णय नमानेर भर्ना गरिसकेका काठमाण्डौ उपत्यकाभित्रका तथा उपत्यकाबाहिरका केही पालिकाले गएको ११ गतेदेखि नै भर्ना अभियान शुरू गरी मंगलबारदेखि नियमित पठनपाठन थाल्ने भएका छन् ।

१५ बैशाख २०८३, मंगलवार ०९:२६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०