काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालकाे याे १४औँ हार हाे ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपाल पराजित भएको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । ओमानका नदीम खानले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । ओमानका कप्तान जतिन्दर सिंहले शतक बनाए । जतिन्दर ९६ बलमा १३० रन आउट भए । नेपालका सोमपाल कामीले ४ विकेट लिए ।
घरेलु मैदानमा भइरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा गएको शनिवार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले हराएको थियो । यस्तै अस्ति सोमवार भएको खेलमा यूएईले ओमानलाई २५ रनले हराएको थियो । अहिले खेलिरहेका ३ वटै टोलीले २–२ खेल खेल्नेछन् ।
८ वटा देश सहभागी लिग–टुमा नेपाल २२ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । यस्तै ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो र यूएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ ।











