गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकामा आगामी नीति तथा कार्यक्रम अन्तर्गत गोदावरी प्रज्ञा प्रतिष्ठान गठन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गोदावरी साहित्य परिषद्को आठौं वार्षिक साधारण सभा जिल्लाव्यापी गजल प्रतियोगिता तथा रचनावाचन कार्यक्रममा प्रमुख अतिथ्यका रुपमा बोल्दै नगर प्रमुख महर्जनले साहित्यका माध्यमबाट समाजको परिवर्तन गर्न र व्यक्तिको सोचमा परिवर्तन गर्न समेत सजिलो हुने बताउनुभयो। गोदावरी नगरपालिकाभित्रका प्राज्ञ व्यक्तित्वहरू समेटेर यसै वर्षभित्र प्रज्ञा प्रतिष्ठान गठन हुने उहाँले स्पष्ट पार्नुभयो। गोदावरी साहित्य परिषद्ले गोदावरी नगरपालिकाभित्रको भाषा संस्कृति तथा ललितकला संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ। संस्थाको आठौँ वार्षिक साधारण सभामा आफ्ना योजना सुनाउँदै संस्थाका अध्यक्ष नवराज सञ्जेलले समृद्ध गोदावरी बनाउन र स्थानीय तहका एकल अधिकारहरू मध्येको भाषा! संस्कृति तथा ललित कला संरक्षणमा आफूले जुटेर काम गर्ने बताउनुभयो।

प्रतियोगितामा पहिलो चरणबाट छनौट भएका उत्कृष्ट १० गजल वाचन गरी प्रथम, द्वितीय तृतीय र प्रोत्साहन पुरस्कार घोषणा गरिएको थियो। निर्णायक तथा युवा गजलकार बाबु त्रिपाठीका अनुसार प्रतियोगितामा ललितपुर महानगरबाट रमला कुमारी पौडेल प्रथम, महाङ्काल गाउँपालिकाका हिमरत्न अनुराग द्वितीय, महालक्ष्मी गाउँपालिकाका जुमन किरण तृतीय र बागमती गाउँपालिकाका बुद्धराम थिङ ले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन्। संस्थाका अध्यक्ष सञ्जेलका अनुसार आगामी जेष्ठ २८ गते गोदावरी साहित्य परिषद्ले बृहत साहित्यिक कार्यक्रमको आयोजना गरी नगदसहित विजेतालाई सम्मान गरिने बताउनुभयो।
गोदावरी साहित्य परिषद्का संस्थापक अध्यक्ष वशिष्ठ अधिकारीले आफूहरू लामो समयदेखि साहित्यका माध्यमबाट निरन्तर अगाडि बढिरहेको र यसले सार्थकता पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो।
प्रतियोगितामा एक दर्जनभन्दा बढी अप्रतियोगीहरूले समेत गजल तथा कविता वाचन गरेर सुनाएका थिए। संस्थाका उपाध्यक्ष जनार्दन पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सदा निहारिकाले गर्नुभएको थियो। संस्थाले आगामी मुखपत्रका लागि साहित्यकार तथा लेखकहरूसँग लेख रचनाको लागि अनुरोध समेत गरेको छ।













