८ जेष्ठ २०८३, शुक्रबार
Follow us :

सरकारलाई गगन थापाको प्रश्न — मानवअधिकार आयोगको प्रतिवेदन कहाँ ?

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सुनसरीको लौकही मा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’लाई सम्बोधन गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

“राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ? सरकारले प्रतिवेदन सार्वजनिक गर्नैपर्छ,” उनले भने ।

गगनकुमार थापा ले २४ भदौका दोषी कानुनी दायरामा आउनुपर्नेमा पनि जोड दिए । योजनाबद्ध रूपमा घटना गराउने जो–कोही भए पनि कानुनको कठघरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारले सय दिनभित्र गर्ने कामको सूची सम्झाउँदै मनपरी ढंगले निर्णय गर्न नहुने टिप्पणी गरे । “जे–जे मन लाग्यो, त्यो सय दिनमा गर्दै जाने ? मन नपरेको कुरा हजार दिनमा गर्ने सुविधा छैन,” उनले भने ।

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले म्यान्डेट दिएको उल्लेख गर्दै संविधानविपरीत कदम चालिए कांग्रेस प्रतिवादमा उत्रिने चेतावनी दिए ।

“रास्वपाले दुईतिहाइ बहुमत पाएको छ । पूर्ण रूपमा सहयोग गर्छौं । तर संख्या छ भन्दै संविधानविपरीत जान खोजियो भने त्यहाँ कांग्रेस उभिन्छ,” उनले भने ।

८ जेष्ठ २०८३, शुक्रबार १५:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०