काठमाडौं- बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा खैलाबैला मच्चिएको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिँदा आफ्नै कार्यकर्ता सांसदमाथि खनिएका छन् ।
टिकट वितरण र संगठन विस्ताजस्ता विषयलाई लिएर असन्तुष्ट पक्ष हात हालाहालमा उत्रिएपछि बैठकस्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि रास्वपाका बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का चन्दन सिंह, क्षेत्र नम्बर ३ का अरविन्द साह र क्षेत्र नम्बर ४ का रहबर अन्सारी ज्यान जोगाउन बैठक स्थलबाट बाहिरिनु परेको थियो ।
उक्त बैठकमा रास्वपाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरूलाई नियतवश संगठनबाट बाहिर राख्न खोजिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।
जिल्लाका स्थानीय तह र वडाहरूमा जगैदेखि संगठन विस्तारमा खटिएका पुराना साथीहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा पाखा लगाउन खोजिएको भन्दै कार्यकर्ताहरू आक्रोशित बनेका थिए ।
लगनशील कार्यकर्तालाई टिकट दिनुको साटो सांसदहरूले पहिले नै टिकट बिक्री गरिसकेको रहस्य खुलेपछि बैठकमा भनाभन सुरु भई अन्ततः आक्रमणको रूप लिएको हो ।











