११ जेष्ठ २०८३, सोमबार
Follow us :

भरतपुरमा “शैक्षिक गुणस्तर वृद्धि” सम्बन्धी गोष्ठी भव्य सम्पन्न

कान्तिपुर प्रेस

सिर्जनशील नेपाल, भरतपुर–१०, चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा “शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालाहरूको भूमिका” विषयक एक दिवसीय गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम २०८३ साल जेठ १० गते आइतबार आदर्श माध्यमिक विद्यालय, दिव्यनगरको सभाहलमा आयोजना गरिएको हो।

सिर्जनशील नेपालका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका अनुभवी तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूले शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन, शिक्षक–अभिभावक समन्वय तथा समुदायको भूमिकाबारे प्रशिक्षणात्मक प्रस्तुति दिएका थिए।

प्रशिक्षकका रूपमा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक गोपालप्रसाद कँडेल, पूर्व उपसचिव खेमनन्द भुसाल तथा पूर्व प्रधानाध्यापक भुवानीप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो। त्यसैगरी शिक्षा र सरोकार कार्यक्रमका अभियन्ता तथा समीक्षक विश्वराज अर्यालले कार्यक्रमको औचित्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा वडा नं. २६ अन्तर्गत रहेका ९ वटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि, शिक्षक–अभिभावक संघका पदाधिकारी, शिक्षक प्रतिनिधि, बालशिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा टोल विकास समितिका अध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका सदस्य दयानिधि अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सह–सचिव शोभाकर भण्डारीले गर्नुभएको थियो। अन्तरक्रियापछि सहभागीहरूले कार्यक्रमलाई निकै फलदायी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण सुधारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

समापन समारोहमा कार्यक्रम सफल बनाउन आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउने वडा कार्यालय, सहयोगी संस्थाहरू, युवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद अधिकारी, समाजसेवी उपेन्द्र अर्याल लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वप्रति आयोजकले आभार व्यक्त गरेको थियो। अन्त्यमा अध्यक्ष मुक्तिनाथ ढकालले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो।

११ जेष्ठ २०८३, सोमबार ०७:४८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०