१४ जेष्ठ २०८३, बिहीबार
Follow us :

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कान्तिपुर प्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति निकालेर मानव अधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणासमेत माग गरेको हो ।

यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ ।

कांग्रेसले नवयुवा आन्दोलनबारे सरकारले नै अनुसन्धान शुरू गर्नुपर्ने पनि बताएको छ । कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ । तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने माग गरेको छ ।

त्यसैगरी राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोग र मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कारबाही हुनुपर्ने कांग्रेसको धारणा छ ।

राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको हो ।

कांग्रेसले हिंसात्मक घटनामा संलग्नमाथि निष्पक्ष कारबाही अघि बढाउन, मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन आवश्यक सुधार गर्न सरकारसमक्ष माग गरेको छ ।

१४ जेष्ठ २०८३, बिहीबार १६:४५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०