काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा ले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन शाह ले सम्बोधन नगरेको विषयलाई ‘गैरजिम्मेवारी’ भएको टिप्पणी गरेकी छन् ।
बिहीबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई जनताप्रतिको उत्तरदायित्वको कमीका रूपमा व्याख्या गरिन् ।
एक सञ्चारकर्मीले ‘गणतन्त्र दिवसमा हरेक प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएकोमा प्रधानमन्त्री बालेन शाह आएपछि किन सम्बोधन बन्द भयो ?’ भन्ने प्रश्न गरेपछि थापाले कडा प्रतिक्रिया दिएकी हुन् ।
‘म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीका रूपमा लिन्छु,’ उनले भनिन् । थापाले विगतमा यस्तो अभ्यास नरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले समारोहमा सहभागी हुन नसक्नुको कारण सार्वजनिक गर्नुपर्ने तर्क समेत गरिन् ।
‘अहिलेसम्मको अभ्यासमा यो भएको छैन । नत्र उहाँले आफू आउन नसक्ने कारण बताउनुपर्थ्यो,’ थापाले भनिन् ।
प्रधानमन्त्रीको अनुपस्थिति र सम्बोधन नहुनुलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।










