दोस्रो विश्वयुद्धपछि उतारचढावपूर्ण रहँदै आएको जापान र चीनको सम्बन्ध पछिल्ला वर्षहरूकै सबैभन्दा तनावपूर्ण अवस्थामा पुगेको छ । जापानले ‘नयाँ सैन्यीकरण’ को गैरजिम्मेवारपूर्ण प्रयास गरिरहेको आरोप लगाउँदै चीनले यसै हप्ता ४० वटा जापानी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण (प्रतिबन्ध) लागु गरेपछि दुई देशबीचकाे विवाद उत्कर्षमा पुगेको हो । यो प्रतिबन्ध नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग गर्न सकिने (dual-use) सामग्रीमा केन्द्रित छ ।
चीन र रुसका बमवर्षक विमानहरूले जापानको हवाई क्षेत्रनजिक संयुक्त अभ्यास गरेको तथा चिनियाँ तटरक्षक बल जापानको विशेष आर्थिक क्षेत्रमा प्रवेश गरेको भन्दै टोकियोले विरोध जनाइरहेकै बेला बेइजिङले यो कडा कदम चालेको हो । चीनको आक्रामक व्यवहारको जवाफ स्वरूप जापानले पनि आफ्नो सबैभन्दा पूर्वी टापुमा मिसाइल लन्चर तैनाथ गर्ने घोषणा गरेको छ ।
तनावको मुख्य कारण: ताइवानमाथि जापानी प्रधानमन्त्रीको अभिव्यक्ति
यो हालैको तनावको जड गत नोभेम्बरमा कार्यभार सम्हालेकी जापानी प्रधानमन्त्री सानाए ताकाएचीको एउटा विवादास्पद अभिव्यक्ति हो । उनले ताइवानमाथि आक्रमण भई त्यसबाट जापानको अस्तित्वमै गम्भीर खतरा उत्पन्न भएमा जापानले आफ्नो आत्मरक्षा बल (SDF) परिचालन गर्न सक्ने बताएकी थिइन् । विगतमा जापानी नेताहरू ताइवानसम्बन्धी सैन्य संलग्नताबारे सार्वजनिक टिप्पणी गर्नबाट जोगिने गरेकोमा ताकाएचीले खुला रूपमा यस्तो धारणा राखेपछि बेइजिङ आक्रोशित बनेको हो ।
चीनले यसलाई आफ्नो आन्तरिक मामिलामा ठाडो हस्तक्षेप भन्दै तत्कालै कूटनीतिक बैठकहरू रद्द गर्यो, आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न चेतावनी दियो र दुई देशबीचका उडानहरू कटौती गर्यो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ताकाएचीलाई सो अभिव्यक्ति फिर्ता लिन बारम्बार आग्रह गरे पनि आफ्ना दक्षिणपन्थी समर्थकमाझ लोकप्रिय बनेकी ताकाएचीका लागि यो राजनीतिक रूपमा सहज देखिएको छैन ।











