देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभरको मौसम सामान्यतया बदली रहेको छ भने बागमती, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पहाडी र तराईका केही स्थानमा पनि पानी पर्ने आँकलन गरिएको छ।
विशेषगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण नदी तटीय क्षेत्र र पहिरोग्रस्त भू-भागमा जोखिम बढ्न सक्ने भन्दै महाशाखाले ती क्षेत्रका बासिन्दालाई नदी तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।












