काठमाडौँ: नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त हुनुभएको छ। कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले डा. आचार्यलाई उक्त पदमा नियुक्त गर्नुभएको हो। पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ र नियमावली २०७६ को परिच्छेद १२ को नियम ३३ बमोजिम यो नियुक्ति गरिएको हो।
डा. आचार्यको पृष्ठभूमि: कार्यकारी निर्देशकमा नियुक्त डा. आचार्य लामो समयदेखि सार्वजनिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँका प्रमुख परिचयहरू यस प्रकार छन्:
-
नेपाली कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख।
-
राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त।
-
नेपाल पत्रकार महासंघका पूर्व सभापति।
विधानको धारा ३६ (घ) बमोजिम डा. आचार्यको यो नियुक्ति आउँदो साउन १ गतेदेखि औपचारिक रूपमा लागू हुनेछ।











