काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपास रहेकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
त्यसैगरी मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र र कमजोर भौगोलिक संरचना भएका स्थानमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।












