२६ असार २०८३, शुक्रबार
Follow us :

भनसुनका आधारमा हुने कर्मचारी सरुवा अन्त्य, अब अनलाइन प्रणालीबाटै स्वतः सरुवा

कान्तिपुर प्रेस

काठमाडौँ । कर्मचारी सरुवामा लामो समयदेखि चल्दै आएको भनसुन, पहुँच र दबाबका आधारमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने अभ्यास अन्त्य भएको छ। सरकारले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै डिजिटल सरुवा प्रणाली लागू गरेपछि अब सरुवा अनलाइन प्रणालीमार्फत हुने भएको हो।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरुवा प्रणालीले निश्चित अवधि पूरा गरेका कर्मचारीलाई स्वतः सरुवाका लागि योग्य बनाउने व्यवस्था गरेको छ। कर्मचारीले आफू जान चाहेको सम्भावित कार्यालय छनोट गरेपछि त्यहाँ दरबन्दी रिक्त भए प्रणालीले स्वतः सरुवा गर्नेछ। यससँगै अवधि नपुग्दै प्रभाव र पहुँचका आधारमा हुने सरुवा पूर्ण रूपमा रोकिएको मन्त्रालयले जनाएको छ।

सरकारले शासकीय सुधारअन्तर्गत तय गरेको १०० कार्यसूचीमध्ये कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार यो व्यवस्था लागू गरिएको हो। मन्त्रालयका सहसचिव धोलकराज ढकालका अनुसार अहिले सरुवाका लागि मन्त्रालयमा धाउनुपर्ने वा शक्तिकेन्द्रको पहुँच खोज्नुपर्ने अवस्था समाप्त भएको छ।

उनले कर्मचारीले आफूले रोजेको कार्यालयमा रिक्त दरबन्दी भएमा सफ्टवेयरले नै स्वतः सरुवा गर्ने व्यवस्था गरिएको बताए। यसअघि दुर्गम जिल्लाबाट काठमाडौँ आएर महिनौँसम्म होटलमा बस्दै सरुवाका लागि दौडधुप गर्नुपर्ने बाध्यता अब हटेको उनको भनाइ छ।

मन्त्रालयका अनुसार नयाँ प्रणाली लागू भएपछि सरुवा प्रक्रियामा पारदर्शिता बढेको, प्रक्रियागत ढिलाइ घटेको र कर्मचारीको विश्वाससमेत बढेको छ। हालसम्म २७ जना कर्मचारीको सरुवा अनलाइन प्रणालीबाट भइसकेको छ भने करिब ९०० कर्मचारीले डिजिटल माध्यमबाट सरुवाका लागि आवेदन दिएका छन्।

डिजिटल सरुवा प्रणालीसँगै कर्मचारीहरूको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण समेटिएको डिजिटल प्रोफाइल पनि तयार गरिएको छ। एपिआईमार्फत विभिन्न सरकारी प्रणालीसँग आबद्ध भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनबाटै ट्र्याक गर्न सक्नेछन् भने सरुवासम्बन्धी पत्रसमेत प्रणालीबाट स्वचालित रूपमा तयार हुनेछ। राष्ट्रिय किताबखाना (निजामती) को प्रणालीसँग जोडिएको सफ्टवेयरले कर्मचारीको योग्यता, अनुभव, ज्येष्ठता, विशेष क्षमता, कार्यरत अवधि र रिक्त दरबन्दीको विश्लेषण गरी प्राथमिकता निर्धारण गर्नेछ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले विगत १५ महिनादेखिको तयारीपछि कर्मचारीको डिजिटल प्रोफाइल तयार भएकाले अनलाइन सरुवा प्रणाली कार्यान्वयन गर्न सहज भएको बताए। उनका अनुसार किताबखानाका अधिकांश सेवा अहिले पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेका छन्।

२५ असार २०८३, बिहीबार ०६:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०