पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनको प्रवेश रोकिएको विषय संसद्मा उठेपछि सरकारले तत्काल अस्थायी समाधान निकालेको छ। वीरगञ्ज भन्सार कार्यालयले ठोरीस्थित छोटी भन्सार कार्यालयमा कर्मचारी खटाएर भारतीय सवारीसाधनलाई पुनः प्रवेश दिने व्यवस्था सुरु गरेको हो।
नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गते प्रतिनिधि सभाको बैठकमा ठोरी नाकामा भारतीय पर्यटकका सवारीसाधनलाई रोक लगाइएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले छोटी भन्सार कार्यालयमा कर्मचारी अभावका कारण पर्यटकका सवारीसाधन फर्काइएको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गरी भन्सार सेवा सञ्चालन गर्न माग गरेकी थिइन्।
सांसदको मागलगत्तै वीरगञ्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरी छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको छ। कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उदयसिंह विष्टका अनुसार एक जना सुब्बा र एक जना कार्यालय सहयोगीलाई खटाएर भारतीय सवारीसाधनका लागि निःशुल्क अस्थायी प्रवेश पास उपलब्ध गराउन थालिएको छ।
हाल जारी गरिएको अस्थायी पासका आधारमा भारतीय सवारीसाधन ठोरी क्षेत्रभित्र मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। अन्य व्यवस्थाबारे भने सम्बन्धित मन्त्रालयबाट थप निर्णय हुने अपेक्षा गरिएको भन्सार कार्यालयले जनाएको छ।
यसअघि असार १९ गतेदेखि सशस्त्र प्रहरीले माथिल्लो निकायको निर्देशन भन्दै भारतीय पर्यटकका निजी सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएपछि स्थानीय पर्यटन व्यवसायी आन्दोलित भएका थिए। उनीहरूले निर्णय फिर्ता लिन माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र समेत बुझाएका थिए।
पछिल्लो समय ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। यहाँ भारतीय पर्यटकलाई लक्षित गरी दर्जनौँ होटल तथा रिसोर्ट सञ्चालनमा छन् भने सयौँ स्थानीयले पर्यटन व्यवसायबाट रोजगारी पाएका छन्।
दैनिक दुई सयभन्दा बढी भारतीय निजी सवारीसाधन ठोरी प्रवेश गर्ने गरेकामा आवागमन रोकिएपछि पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको थियो। कर्मचारी खटाएर भन्सार सेवा पुनः सञ्चालनमा आएपछि स्थानीय पर्यटन व्यवसायीले राहत महसुस गरेका छन्।











