३२ असार २०८३, बिहीबार
Follow us :

स्थानीय तहका सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ : कांग्रेस नेता आचार्य

क्रियाशील सदस्यता कसैले पनि राजनीतिक रूपमा रोक्न मिल्दैन, कांग्रेस अब परम्परागत ढंगले चल्दैन

कान्तिपुर प्रेस

ललितपुर। नेपाली कांग्रेसले आगामी महाधिवेशनलाई थप समावेशी, व्यवस्थित र संगठनमुखी बनाउने उद्देश्यका साथ स्थानीय तहका (७५३ पालिका) सभापतिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने वैधानिक व्यवस्था गरिएको छ। नेपाली कांग्रेसको   केन्द्रीय प्रतिनिधिको रूपमा ललितपुरमा खटिएर आएका नेता मनोजमणि आचार्यले  पार्टी अब पुरानो कार्यशैलीबाट बाहिर निस्केर नयाँ ढंगले अघि बढ्ने बताएका छन्।

नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत ललितपुरको महाङ्काल गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै आचार्यले पार्टी विधानमै सुधार गरी स्थानीय तहका सभापतिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार यस व्यवस्थाले स्थानीय तहका नेतृत्वलाई थप जिम्मेवार, सक्रिय र प्रभावकारी बनाउनेछ।

आचार्यले पार्टीभित्र क्रियाशील सदस्यता कुनै पनि हालतमा राजनीतिक रूपमा रोक्न नहुने स्पष्ट पारे। पार्टी नेतृत्वको उद्देश्य कसैलाई सदस्यताबाट वञ्चित गर्नु नभई सबै योग्य कार्यकर्तालाई समेटेर संगठनलाई थप बलियो बनाउनु रहेको उनको भनाइ थियो।

“क्रियाशील सदस्यता कसैको राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा रोक्नु हुँदैन। पार्टीमा सबैको योगदान छ, त्यसैले सबैलाई समान अवसर दिनुपर्छ,” उनले भने।

उनले धेरै सांसद, जनप्रतिनिधि तथा पार्टीका जिम्मेवार नेताहरूले क्रियाशील सदस्यता नवीकरण गरिसकेको र बाँकीको अद्यावधिक प्रक्रिया पनि तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। नयाँ पुस्तालाई कांग्रेसमा आकर्षित गर्न युवामुखी सदस्यता विस्तार अभियान सञ्चालन गरिने उनले बताए।

अन्य राजनीतिक दलहरूले सदस्यता प्रणालीलाई डिजिटल बनाइसकेको उल्लेख गर्दै आचार्यले नेपाली कांग्रेसले पनि सदस्यता व्यवस्थापनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारी गरिरहेको बताए। कुनै व्यक्ति, समूह वा प्यानलको नाममा सदस्यता वितरण वा नवीकरण गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।

पार्टीले उम्मेदवार चयन गरिसकेपछि समूहगत हिसाबले मतदान गर्नु कांग्रेसको लोकतान्त्रिक संस्कारविपरीत हुने भन्दै उनले टिकट पाएपछि सबैले आधिकारिक उम्मेदवारको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिए।

विशेष महाधिवेशनलाई अदालतले वैधानिकता दिइसकेको उल्लेख गर्दै आचार्यले नेपाली कांग्रेस अब पुरानै ढर्राबाट सञ्चालन नहुने बताए। संगठन, नेतृत्व विकास र कार्यशैलीमा व्यापक परिवर्तन ल्याउने तयारी भइरहेको उनको भनाइ थियो।

पछिल्लो निर्वाचनको परिणाम अपेक्षाअनुसार नभए पनि लोकतान्त्रिक मूल्यअनुसार कांग्रेसले जनमतलाई सम्मान गरेको उनले बताए। अहिले सञ्चालन भइरहेको ‘जरा अभियान’ आगामी साउन ६ गते समापन हुने र त्यसपछि साउन ७ गते पार्टीले नयाँ कार्यक्रम सार्वजनिक गर्ने जानकारी उनले दिए।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेस एकढिक्का भएर मैदानमा उत्रनुपर्ने आवश्यकता औँल्याए। संगठनलाई गाउँगाउँसम्म सक्रिय बनाउँदै सबै स्थानीय तहमा कांग्रेसको प्रभाव कायम राख्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले कांग्रेस अब पुरानो शैलीमा नचल्ने बताउँदै सभापति गगन कुमार थापाको नेतृत्वमा अघि सारिएका संगठन सुदृढीकरणका कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताए। उनले जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गरेर मात्रै कांग्रेसलाई थप बलियो बनाउन सकिने धारणा व्यक्त गरे।

महाङ्काल गाउँपालिका कार्यसमितिका सभापति ठक्करप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला तहका नेता, जनप्रतिनिधि, क्रियाशील सदस्य र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संगठन विस्तार, क्रियाशील सदस्यता व्यवस्थापन, आगामी महाधिवेशनको तयारी तथा स्थानीय तह निर्वाचनलाई लक्षित रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

३२ असार २०८३, बिहीबार १७:४० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०