६ श्रावण २०८३, बुधबार
Follow us :

गगन थापाको व्यङ्ग्य– ‘गाडीमा ब्रेक नहुनेले सरकार, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’

कान्तिपुर प्रेस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै वर्तमान राजनीतिक नेतृत्वमा संयम र दूरदृष्टिको खाँचो रहेको बताएका छन्।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा पाँच किलोमिटर दौड पूरा गरेपछि थापाले “गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने” भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गरे।

उनले जननायक बीपी कोइरालाले देखाएको मार्गमा दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी बीपीका विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए।

थापाले जलवायु परिवर्तनलाई नेपालको विकासको प्रमुख एजेन्डा बनाउने उद्देश्यले विज्ञहरूसँग छलफल सुरु गरिएको र त्यसबाट प्राप्त सुझावलाई पार्टीको नीति निर्माणमा समेटिने जानकारी दिए।

यसैबीच, नेपाली कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरी प्रारम्भिक रूपमा १० लाख रुपैयाँ जम्मा गरेको पनि थापाले जानकारी दिए। उक्त कोषबाट विस्थापित सुकुमवासी परिवार, विशेषगरी एकल महिला र शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकालाई सहयोग गरिने उनले बताए।

थापाका अनुसार ‘ग्रिन रन’ केवल जनचेतनामूलक कार्यक्रम नभई नयाँ सामाजिक अभियानको सुरुआत हो, र कांग्रेसले आफ्नो देशव्यापी नयाँ अभियान बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ।

६ श्रावण २०८३, बुधबार ११:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०