नेपाल प्रहरी प्रधान कार्यालयले गरेको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सल्यान पहिलो स्थान हासिल गर्न सफल भएको हो। केही महिनाअघि १९औँ स्थानमा रहेको कार्यालयले कार्यसम्पादनमा निरन्तर सुधार गर्दै जेठमा दोस्रो र असारमा सर्वाधिक अंक प्राप्त गर्दै देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार प्रहरी नेतृत्व, सम्पूर्ण प्रहरी कर्मचारीको सक्रियता, प्रभावकारी समन्वय तथा अहोरात्र खटाइका कारण यो सफलता सम्भव भएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। मूल्याङ्कनका क्रममा अपराध नियन्त्रण तथा अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानवअधिकारको पालना, नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली, विपद् व्यवस्थापन, जनगुनासो फर्छ्योट तथा आन्तरिक अनुशासनलगायतका सूचकलाई आधार बनाइन्छ।
यी सबै सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै सल्यान प्रहरीले १९औँ स्थानबाट पहिलो स्थानमा फड्को मारेको हो। कार्यालयले आगामी दिनमा पनि शान्ति–सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।











