११ श्रावण २०८३, सोमबार
Follow us :

झडपपछि सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

कान्तिपुर प्रेस

सुनसरीमा दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच अति संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यूआदेश जारी गरेको छ। प्रशासनले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कफ्र्यु लागू रहने जनाएको हो।

प्रशासनका अनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु लागू गरिएको हो। हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्र कफ्र्युको दायरामा परेको छ।

त्यस्तै, भुटाहा बजारको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कफ्र्यु लागू गरिएको छ। कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कफ्र्यु आदेश जारी गरिएको छ।

घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कफ्र्यु लागू गरिएको छ। यस्तै, देवानगञ्ज बजारको पूर्वमा विराटनगर जाने बाटोस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय क्षेत्रसम्म कर्फ्यू आदेश लागू गरिएको प्रशासनले जनाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सम्भावित अप्रिय घटना रोक्न तथा जिल्लाको शान्ति–सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको हो। उनले सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न, अफवाहमा विश्वास नगर्न र आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन्।

प्रशासनले सुरक्षा अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ। अवस्था सामान्य भएपछि आवश्यक निर्णय गर्दै अर्को सूचना जारी गरिने पनि प्रशासनले स्पष्ट पारेको छ।

११ श्रावण २०८३, सोमबार १२:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०