काठमाडौं- नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा प्रभावित स्थानीयले आफ्ना माग राखेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्।सोमबार सुरुङमार्ग उद्घाटनका लागि पुगेका मन्त्री लम्साललाई सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिका प्रतिनिधिले भेट गरी प्रभावित क्षेत्रका समस्या र मागबारे जानकारी गराएका थिए।
स्थानीयले सुरुङमार्ग निर्माण र सञ्चालनसँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, चर्किएका घरको उचित सम्बोधन तथा प्रभावित परिवारको समस्या समाधान गर्न माग गरेका छन्।
प्रभावित पक्षले सिस्नेखोला पानी लिफ्टिङ खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेका छन्। साथै सुरुङमार्ग प्रयोगका क्रममा स्थानीय बासिन्दालाई सहज आवतजावतको व्यवस्था मिलाउनुपर्ने बताएका छन्।
उनीहरूले स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र सुरुङमार्ग सञ्चालनसँगै स्थानीय सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन्।पूर्वाधार आयोजना निर्माण गर्दा स्थानीय समुदायमा परेको प्रभावलाई सम्बोधन नगरे समस्या बढ्न सक्ने भन्दै प्रभावितहरूले सरकारसँग स्पष्ट समाधान खोज्न आग्रह गरेका छन्।
मन्त्री सुनिल लम्सालले स्थानीयका माग सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन्। उनले प्रभावित प्रतिनिधिहरूलाई थप छलफलका लागि दिउँसो २ बजे मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका छन्।मन्त्रीसँगको छलफलपछि खानेपानी आयोजना, घरमा परेको क्षति, आवतजावत र रोजगारीलगायत विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।












