त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीको परीक्षा रद्द गरिने चेतावनी दिएको छ। विश्वविद्यालयले परीक्षा मर्यादित र व्यवस्थित बनाउन जारी गरेको सूचनामा नियमविपरीत गतिविधि गर्ने विद्यार्थीमाथि कारबाही गरिने जनाएको हो।
व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेका स्नातक, स्नातकोत्तर तथा एमफिल कार्यक्रमका परीक्षामा सहभागी विद्यार्थीलाई त्रिविले नियम पालना गर्न आग्रह गरेको छ। व्यवस्थापन संकायका करिब १७ हजार विद्यार्थी परीक्षा दिइरहेको जानकारी दिँदै त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले परीक्षा अवधिमा कुनै गलत गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।
रजिस्ट्रार चालिसेले राम्रो विद्यार्थीले परीक्षा मर्यादा कायम राख्न सहयोग गर्नुपर्ने बताए। “१७ हजार विद्यार्थीको आज परीक्षा हुँदै छ। नराम्रो गतिविधि गर्ने देखेमा राम्रो विद्यार्थीले तत्काल प्रहरीलाई जानकारी गराउनु,” उनले भने।
व्यवस्थापन संकायको डीन कार्यालयमार्फत सञ्चालन हुने विभिन्न तहका परीक्षाहरू अहिले जारी छन्। परीक्षा व्यवस्थित बनाउन त्रिविले विद्यार्थीका लागि ६ बुँदे निर्देशनसमेत सार्वजनिक गरेको छ।
त्रिविले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको वैध प्रवेश पत्र परीक्षाका दिन अनिवार्य रूपमा ल्याउन भनेको छ। विद्यार्थीले परीक्षा केन्द्रले तोकेको सिटमा मात्र बसेर परीक्षा दिनुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना सिट वा परीक्षा भवन छोड्न नपाइने व्यवस्था गरिएको छ।
विश्वविद्यालयका अनुसार परीक्षा सुरु भएको एक घण्टाभित्र परीक्षार्थीलाई भवनबाट बाहिर निस्कन अनुमति दिइने छैन। साथै मोबाइल फोन, स्मार्टवाच लगायतका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान प्रतिबन्ध लगाइएको छ।
त्रिविले नक्कल गर्ने, अरूलाई सहयोग गर्ने, अर्काको सट्टामा परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध गर्ने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने कार्यलाई निषेध गरेको छ।परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा अन्य परीक्षा कर्मचारीको निर्देशन पूर्ण रूपमा पालना गर्नुपर्ने त्रिविले जनाएको छ।
विश्वविद्यालयले जारी गरेको सूचनामा परीक्षा नियम तथा आचारसंहिता उल्लंघन गरेको पाइएमा परीक्षा नियमावलीअनुसार परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने र आवश्यक परे कानुनी कारबाहीसमेत गर्न सकिने उल्लेख छ। त्रिविले सबै परीक्षार्थीलाई परीक्षा मर्यादा कायम राख्न आग्रह गरेको छ।












