१२ श्रावण २०८३, मंगलवार
Follow us :

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, भोलि केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जली

कान्तिपुर प्रेस

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै पार्टीले भोलि साउन १३ गते आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक बिहान ८ः३० बजे बस्ने तय भएको कांग्रेसले जनाएको छ।

ललितपुरस्थित हेलिस अस्पतालमा उपचारका क्रममा आज नेता श्रेष्ठको निधन भएको हो। उहाँको निधनपछि पार्टीले शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक आह्वान गरेको हो। उक्त बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई भोलि बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ।

गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी र प्रभावशाली नेतामध्ये एक मानिनुहुन्थ्यो। उहाँले पार्टी संगठन सुदृढीकरणदेखि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनले नेपाली कांग्रेससहित समग्र नेपाली राजनीतिक वृत्तमा अपूरणीय क्षति पुगेको भन्दै नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। पार्टीले उहाँप्रति सम्मान प्रकट गर्दै शोक सभासहित अन्तिम श्रद्धाञ्जली कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

१२ श्रावण २०८३, मंगलवार १७:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०