१२ श्रावण २०८३, मंगलवार
Follow us :

मुग्लिन–नारायणगढ सडक बन्द

सुक्खा पहिरोको जोखिम बढेपछि यात्रुको सुरक्षाका लागि रातिको सवारी आवागमन रोकियो

कान्तिपुर प्रेस सम्वाददाता

मुग्लिन बजार नजिकै सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा आज राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार साँझ सूचना जारी गर्दै यात्रुको सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको जनाएको हो। प्रशासनका अनुसार मुग्लिन बजार नजिकै नारायणगढतर्फ सडकमाथिबाट निरन्तर सुक्खा पहिरो झरिरहेकाले रातिको समयमा यात्रा गर्नु जोखिमपूर्ण देखिएको छ।

जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी तथा प्रशासकीय अधिकृत अनिता खिजालीका अनुसार रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय क्षतिको जोखिम बढ्न सक्ने भएकाले आवागमन अस्थायी रूपमा बन्द गरिएको हो।

उहाँले सडक पूर्ण रूपमा सुरक्षित भएको सुनिश्चित भएपछि मात्रै सवारी सञ्चालनबारे थप निर्णय गरिने बताउनुभयो। हाल पहिरोको अवस्था निरन्तर अनुगमन भइरहेको र सम्बन्धित निकाय सडकलाई सुरक्षित बनाउन आवश्यक काममा जुटिरहेको प्रशासनले जनाएको छ।

प्रशासनले राति ८ बजेदेखि बिहान ५ बजेसम्मको अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सडकको अवस्थाअनुसार थप सूचना जारी गरिने पनि जनाएको छ।

सवारी आवागमन बन्दबाट यात्रु तथा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै जिल्ला प्रशासन कार्यालयले आवश्यक जानकारी तथा समन्वयका लागि सम्बन्धित सुरक्षा निकाय र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग सम्पर्क गर्न आग्रह गरेको छ। यात्रु तथा सवारी चालकलाई प्रशासनको सूचनाको पालना गरी सुरक्षित यात्रा गर्न पनि अनुरोध गरिएको छ।

१२ श्रावण २०८३, मंगलवार २०:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०