राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा पुनर्योग (Retotaling) पछि ७४२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ। यससँगै बोर्डको नतिजा प्रकाशन प्रक्रियाको विश्वसनीयतामाथि यस वर्ष पनि प्रश्न उठेको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को नतिजाप्रति चित्त नबुझाएका ३३ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये ७४२ जनाको नतिजा परिवर्तन भएको हो, जुन कुल आवेदनकर्ताको २.२३ प्रतिशत हो। यद्यपि, यो संख्या गत वर्षको तुलनामा केही कम रहेको शर्माले बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा सकिएको ४० दिनभित्रै नतिजा सार्वजनिक गरेको थियो। १४ वैशाखदेखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षा ५ असारमा नतिजा प्रकाशित गरिएको थियो। नतिजा सार्वजनिक भएपछि विश्वसनीयतामाथि प्रश्न उठाउँदै विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए।
बोर्डका अनुसार पुनर्योगपछि ‘एनजी’ (नन–ग्रेडेड) प्राप्त गरेका १२९ जना विद्यार्थीले विभिन्न विषयमा ग्रेड प्राप्त गरेका छन्। केही विद्यार्थीको नतिजा ‘ए प्लस’सम्म पुगेको बोर्डले जनाएको छ। सामान्यतया कुनै विषयमा ‘एनजी’ प्राप्त गर्ने विद्यार्थीको ग्रेडसिटमा प्राप्ताङ्क उल्लेख हुँदैन र उनीहरू अनुत्तीर्ण मानिन्छन्।
विषयगत रूपमा हेर्दा अंग्रेजीमा ८४, केमेस्ट्रीमा ७८, फिजिक्समा ७२, गणितमा ७१, एकाउन्टमा ५६, नेपालीमा ५०, बायोलोजीमा ४२, कम्प्युटर साइन्समा ३२ तथा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षामा ३१ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ। अन्य विषयमा भने १० जनाभन्दा कम विद्यार्थीको नतिजा संशोधन भएको बोर्डले जनाएको छ।
बोर्डले २५ असारदेखि ११ साउनसम्म विभिन्न चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको थियो। पुनर्योगको नतिजाप्रति पनि चित्त नबुझेका विद्यार्थीलाई उत्तरपुस्तिका हेर्ने व्यवस्था गरिएको छ। पुनर्योगका लागि एक हजार रुपैयाँ र उत्तरपुस्तिका अवलोकनका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ।
यसअघि यस वर्षको एसईई नतिजामा पनि ३२ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये १ हजार ८ सय ७९ जनाको नतिजा परिवर्तन भएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले जनाएको थियो। यसले परीक्षा नतिजाको शुद्धता र मूल्यांकन प्रक्रियाको गुणस्तरबारे पुनः बहस सुरु गराएको छ।











