ल्यान्ड रोभरले आफ्नो लोकप्रिय लक्जरी एसयूभी डिस्कभरी स्पोर्टको उत्पादन सन् २०२६ को डिसेम्बरबाट आधिकारिक रूपमा बन्द गर्ने घोषणा गरेको छ। सन् २०१५ देखि उत्पादन हुँदै आएको यो मोडलले करिब ११ वर्षको यात्रा पूरा गर्दै कम्पनीको इतिहासमा एक महत्वपूर्ण अध्यायका रूपमा विदा हुने भएको हो।
डिस्कभरी स्पोर्ट ल्यान्ड रोभरको इन्ट्री–लेभल लक्जरी एसयूभीका रूपमा परिचित थियो। आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर र बहुउपयोगी क्षमताका कारण यसले विश्वका विभिन्न बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरेको थियो। सार्वजनिक हुँदा यसले कम्पनीको चर्चित ‘फ्रिल्यान्डर’ मोडललाई प्रतिस्थापन गरेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्ला वर्षहरूमा घट्दो बिक्री, विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण तथा युरोपेली संघको जनरल सेफ्टी रेगुलेसन–२ (GSR2) अन्तर्गत लागू भएका नयाँ सुरक्षा मापदण्ड उत्पादन बन्द गर्ने निर्णयका प्रमुख कारण बनेका छन्। नयाँ नियमअनुसार आधुनिक सुरक्षा प्रविधि अनिवार्य गरिएकाले पुरानो प्लेटफर्ममा आधारित मोडललाई अद्यावधिक गर्न ठूलो लगानी आवश्यक पर्ने अवस्था सिर्जना भएको बताइएको छ।
ल्यान्ड रोभरले सन् २०२० मा डिस्कभरी स्पोर्टलाई नयाँ प्लेटफर्म, परिमार्जित इन्टेरियर र आधुनिक प्रविधिसहित अपडेट गरेको थियो। त्यसपछि पनि कम्पनीले मोडललाई प्रतिस्पर्धी बनाउने प्रयास गरे पनि बजारको बदलिँदो प्रवृत्ति र विद्युतीकरणको तीव्र विस्तारले यसको भविष्य प्रभावित भएको विश्लेषण गरिएको छ।
विश्व अटो उद्योग विद्युतीय सवारीसाधनतर्फ तीव्र रूपमा अघि बढिरहेका बेला ल्यान्ड रोभरले पनि आफ्नो दीर्घकालीन उत्पादन रणनीतिलाई विद्युतीकरणमा केन्द्रित गर्दै डिस्कभरी स्पोर्टको उत्पादन अन्त्य गर्ने निर्णय लिएको हो। उत्पादन बन्द भएसँगै यो मोडल ल्यान्ड रोभरको इतिहासमा सफल र स्मरणीय एसयूभीका रूपमा रहने अपेक्षा गरिएको छ।












