सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र एआइबिडीका सिइओ फिलोमेना ज्ञानप्रगासमबीच भेटवार्ता भएको छ। भेटमा नेपालमा हुने २४औँ सम्मेलनबारे छलफल भयो।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र एसिया–प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमबीच शिष्टाचार भेटवार्ता भएको छ। सञ्चार मन्त्रालयमा भएको भेटमा सञ्चार क्षेत्रको विकास, कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआइबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको हो।
भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले क्षेत्रीय तथा अन्तरराष्ट्रिय सम्मेलन र विज्ञ तथा पदाधिकारीबीचको छलफलले सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालमा आयोजना हुने एआइबिडी सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे बहस गर्दै सञ्चार कानुन सुधार प्रक्रियाका लागि आवश्यक सुझाव उपलब्ध गराउने बताउनुभयो।
मन्त्री तिमिल्सिनाले पछिल्लो एक दशकमा सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै सरकारले नयाँ कानुन निर्माण र पुराना कानुन संशोधनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो। सम्मेलनबाट प्राप्त सुझाव नीति निर्माणमा उपयोगी हुने उहाँको भनाइ थियो।
उहाँले सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि र लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। साथै रेडियो र टेलिभिजनजस्ता सञ्चारमाध्यमले नागरिक सहभागिता वृद्धि तथा उत्तरदायी शासन प्रणाली निर्माणमा योगदान पुर्याउँदै आएको बताउनुभयो।
सञ्चार क्षेत्रले आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण र विश्वसनीयताको चुनौती सामना गरिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले ती समस्या समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।
एआइबिडीकी सिइओ फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै प्रभावकारी सञ्चार माध्यमका रूपमा रहेको बताउनुभयो। उहाँले नेपालको सामुदायिक रेडियो अभियानले गाउँ तहसम्म सूचना पुर्याउन उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार सञ्चार क्षेत्र एआई, डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानवअधिकार तथा सामाजिक विषयसँग जोडिँदै तीव्र रूपमा परिवर्तन भइरहेको छ। विपद्का समयमा पूर्वसूचना तथा विश्वसनीय जानकारी प्रवाह गर्न विद्युतीय सञ्चारमाध्यमको भूमिका अझै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।
आगामी अगस्ट २३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने एआइबिडीको २४औँ सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न मुलुकका प्रसारण क्षेत्रका नीति निर्माता, सञ्चारविज्ञ, प्रसारक संस्था तथा सञ्चारकर्मीको सहभागिता रहने आयोजकले जनाएको छ।












