१३ श्रावण २०८३, बुधबार
Follow us :

एनआरटी स्नूकर च्याम्पियनसिप सुरु, वाङचु तामाङ विजयी

प्रथम काठमाडौं खेलमण्डल एनआरटी नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप सुरु भएको छ। उद्घाटन खेलमा वाङचु तामाङ विजयी भए।

कान्तिपुर प्रेस

काठमाडौं । प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौं खेलमण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबको भवनमा सुरु भएको प्रतियोगिताको उद्घाटन दिन नेपालका नम्बर एक स्नूकर खेलाडी वाङचु तामाङले विजयी सुरुवात गर्नुभएको छ।

समूह ‘ए’ अन्तर्गत भएको खेलमा तामाङले विनोद श्रेष्ठलाई बेस्ट अफ सेभेन फर्म्याटमा ४–२ को स्कोरले पराजित गर्नुभयो। प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडी र आयोजक एनआरटीका एक खेलाडी गरी १६ खेलाडीको सहभागिता रहेको छ।

प्रतियोगिताका सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट उत्कृष्ट दुई खेलाडी नकआउट चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको उद्घाटन एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले गर्नुभएको थियो।

प्रतियोगिताका संयोजक तथा एनआरटीका केन्द्रीय सदस्य राजेन्द्र शाक्यले खेलहरूको प्रत्यक्ष प्रसारण एनआरटीको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट भइरहेको जानकारी दिनुभयो।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् भने सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

यस्तै, सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ दामाशाही तथा ८० अंकभन्दा माथिको हाइएस्ट ब्रेक गर्ने खेलाडीलाई २० हजार रुपैयाँ दामाशाही र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

१३ श्रावण २०८३, बुधबार १४:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०