इनरुवा। सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा साउन १० गते भएको घटनापछि असामान्य बनेको पूर्वी तराईको जनजीवन शनिबारदेखि क्रमशः सामान्य बन्दै गएको छ। घटनामा दुई जनाको मृत्यु र २० जनाभन्दा बढी घाइते भएपछि तनावग्रस्त बनेको क्षेत्र अहिले पुनः शान्त हुँदै गएको हो।
मृतकहरूको दाहसंस्कार सम्पन्न हुनु, नेपाल सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति हुनु, सुरक्षा व्यवस्था सुदृढ बनाइनु तथा राजनीतिक र सामाजिक तहबाट निरन्तर संवाद अघि बढाइएपछि स्थानीय जनजीवन पुरानै लयमा फर्किन थालेको छ।
स्थिति सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच दिनदेखि जारी कफ्र्यु शनिबार बिहानदेखि हटाएको छ। यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुनसरीका १० स्थानीय तहमा आइतबार बिहान ९ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भएर धर्ना, जुलुस, सभा वा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको छ।
प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको परिचालनलाई संवेदनशील क्षेत्रमा यथावत् राखेको जनाएको छ।
देवानगन्ज, हरिनगर, इनरुवा, दुहबी, बर्जु, कोशी गाउँपालिका, भोक्राहा नरसिंह र गढीलगायतका बजारमा पसल खुल्न थालेका छन्। केही दिनदेखि सुनसान रहेका बजार क्षेत्रमा चहलपहल बढेको छ भने यातायात सेवा, कृषि उत्पादनको ढुवानी तथा दैनिक आर्थिक गतिविधि पनि पुनः सञ्चालनमा आएका छन्।
घटनापछि गृहमन्त्री सुधन गुरुङले मोरङ, सुनसरी, सिराहा र धनुषालगायत जिल्लाको भ्रमण गरी पीडित परिवार, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग पटक–पटक छलफल गरेका थिए। त्यसपछि सरकार र पीडित परिवारबीच सहमति भएसँगै मृतकहरूको सम्मानपूर्वक दाहसंस्कार सम्पन्न भएको थियो।
यसैबीच, गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले घटनास्थल निरीक्षण, प्रत्यक्षदर्शीसँग बयान सङ्कलन तथा सुरक्षा निकायसँग आवश्यक विवरण लिने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। समितिले घटनाको कारण, सुरक्षा व्यवस्थाका कमजोरी र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लाको सुरक्षा अवस्था नियन्त्रणमा रहेको र सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने गतिविधिमाथि निगरानी बढाइएको जानकारी दिएका छन्।
सिराहामा पनि कफ्र्यु हटाइएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि सप्तरीको राजविराजलगायत केही संवेदनशील क्षेत्रमा प्रशासनले सुरक्षा सतर्कता कायम राख्दै कफ्र्युलाई निरन्तरता दिएको छ।











