नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल आधुनिक तथा व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरेको छ। अहिले देशभर आठ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् भने थप २३ वटा सुरुङमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अघि बढिरहेको छ।
चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङमार्गहरूको अध्ययनका लागि सरकारले ६७ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले देशभरका सुरुङमार्गको अध्ययन, अनुसन्धान तथा निर्माण समन्वय गरिरहेको छ।
केन्द्रका अनुसार हाल निर्माणाधीन आठ सुरुङमार्गमध्ये सात वटा काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाअन्तर्गत छन्। धेन्द्रे, लेनडाँडा, महादेवटार, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा सुरुङ निर्माण भइरहेको छ। द्रुतमार्गको ७०.७९९ किलोमिटर लम्बाइमध्ये ११.२१० किलोमिटर भाग सुरुङमार्ग रहनेछ। हरेक स्थानमा सवारी आवतजावतका लागि छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका छन्।
यससँगै सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्ग पनि निर्माणको अन्तिम चरणमा पुगेको छ। योजना प्रमुख इन्जिनियर नवराज बास्तोलाका अनुसार एक हजार १२६ मिटर लामो सुरुङमार्गको समग्र भौतिक प्रगति ७० प्रतिशत र सुरुङभित्रको निर्माण कार्य ९२ प्रतिशत सम्पन्न भइसकेको छ।
सुरुङभित्रको लाइनिङ, इन्भर्टलगायत संरचनात्मक काम सकिएको छ भने अब भेन्टिलेसन, पङ्खा, विद्युत् र सञ्चार प्रणाली जडान गर्न बाँकी छ। चीनबाट उपकरण आइपुगेपछि दुई महिनाभित्र जडान सम्पन्न गरी यसै वर्षको कात्तिकभित्र सुरुङ सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
यता देशका विभिन्न भागमा प्रस्तावित २३ सुरुङमार्गको अध्ययन भइरहेको छ। मकवानपुर, सिन्धुली, दोलखा, सुनसरी, कैलाली, डोटी, ललितपुर, काभ्रेपलाञ्चोक, पाल्पा, बागलुङ, जाजरकोट, जुम्ला, भक्तपुर, सुर्खेत, इलाम, धादिङ, चितवन, कास्की, पर्वत, नवलपरासी, स्याङ्जा, दाङ, बर्दिया, काठमाडौं र नुवाकोटलगायत जिल्लामा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन जारी छ।











