२२ श्रावण २०८३, शुक्रबार
Follow us :

ट्रम्पका दुई नयाँ आदेश: जन्मसिद्ध अमेरिकी नागरिकता थप सीमित गर्ने प्रयास

सर्वोच्च अदालतबाट अघिल्लो प्रयास रोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता र ‘बर्थ टुरिज्म’ लक्षित दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन्।

कान्तिपुर प्रेस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। केही साताअघि मात्रै अमेरिकी सर्वोच्च अदालतले यसअघिको उनको प्रयास कार्यान्वयन हुन नदिएपछि ट्रम्पले नयाँ आदेशमार्फत पुनः नीति अघि बढाएका हुन्।

बिहीबार हस्ताक्षर गरिएको पहिलो आदेशले कुन-कुन गैर-अमेरिकी नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वतः अमेरिकी नागरिकता नपाउने भन्ने दायरा थप विस्तार गरेको छ। आदेशअनुसार दुवै अभिभावक गैर-अमेरिकी नागरिक भएको अवस्थामा, यदि उनीहरूमध्ये एक जना विदेशी आतंकवादी समूहको सदस्य, विदेशी सरकारको कर्मचारी, ठगी वा जालसाजीमार्फत अमेरिकी नागरिकता प्राप्त गर्न खोजेको व्यक्ति वा संघीय कानुनअनुसार जन्मसिद्ध नागरिकता लागू नहुने अमेरिकी भूभागमा बसोबास गरिरहेको भए, त्यस्ता अभिभावकबाट जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्।

दोस्रो आदेशले ‘बर्थ टुरिज्म’ अर्थात् बच्चालाई अमेरिकी नागरिक बनाउने उद्देश्यले गर्भवती महिलाहरू पर्यटकका रूपमा अमेरिका आउने अभ्यास रोक्ने लक्ष्य राखेको छ।ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यो कदम धेरै वर्षअघि नै लागू हुनुपर्ने विषय भएको उल्लेख गरे। उनले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेकोप्रति असन्तुष्टि पनि व्यक्त गरे।

ट्रम्प प्रशासनले रुस र चीनजस्ता देशका नागरिकहरूले जन्मसिद्ध नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएको छ। ट्रम्पले हरेक वर्ष ठूलो संख्यामा बालबालिका यही उद्देश्यले अमेरिकामा जन्मिने दाबी गरेका छन्।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टीफन मिलरले पनि केही व्यक्तिहरू पर्यटकको बहाना बनाएर अमेरिका प्रवेश गर्ने तर वास्तविक उद्देश्य बच्चालाई अमेरिकी नागरिकता दिलाउने रहेको दाबी गरेका छन्। उनका अनुसार त्यसबाट ती बालबालिकाले भविष्यमा अमेरिकी नागरिकका रूपमा सामाजिक सुविधा, मतदान अधिकार र अन्य कानुनी अधिकार प्राप्त गर्ने भएकाले यस्तो अभ्यास नियन्त्रण गर्न आवश्यक छ।

२२ श्रावण २०८३, शुक्रबार ०८:०७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०