भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेलसेवा नेपालगन्ज रोड स्टेसनसम्म विस्तार हुने भएपछि पश्चिम नेपालको व्यापार, पर्यटन र आवागमनमा नयाँ सम्भावना देखिएको छ। भारतीय रेल मन्त्रालयले वाराणसी सिटी–गोरखपुर रेलसेवा रुपैडियास्थित नेपालगन्ज रोडसम्म विस्तार गर्ने निर्णय गरेको हो। विस्तारपछि वाराणसी सिटी–नेपालगन्ज रोड एक्सप्रेस र नेपालगन्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउनेछन्।
रेलसेवा विस्तारले नेपालगन्जसहित बाँके, बर्दिया तथा पश्चिम नेपालका व्यवसायी र सर्वसाधारणलाई भारतका प्रमुख व्यापारिक तथा धार्मिक सहरसँग सहज रूपमा जोड्ने अपेक्षा गरिएको छ। व्यवसायीहरूले व्यापार, होटल, यातायात, गोदाम तथा अन्य सेवा क्षेत्रमा गतिविधि बढ्ने विश्वास गरेका छन्।
पर्यटन व्यवसायीहरूले वाराणसीलगायत भारतका धार्मिक क्षेत्रबाट आउने पर्यटकलाई नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका गन्तव्यसम्म पुग्न सहज हुने बताएका छन्। शिक्षा र स्वास्थ्योपचारका लागि भारत जाने नेपाली यात्रुलाई पनि रेलसेवा उपयोगी हुने अपेक्षा गरिएको छ।
समयतालिकाअनुसार वाराणसी सिटीबाट राति १०ः३५ बजे छुट्ने रेल बिहान ११ः२० बजे नेपालगन्ज रोड पुग्नेछ। नेपालगन्ज रोडबाट दिउँसो ४ः१५ बजे छुट्ने रेल भोलिपल्ट बिहान ८ः३० बजे वाराणसी सिटी पुग्नेछ।
व्यवसायी तथा सीमावर्ती क्षेत्रका नागरिकले लामो समयदेखि नेपालगन्जसम्म रेलसेवा विस्तारको माग गर्दै आएका थिए। सेवा विस्तारसँगै पश्चिम नेपालको व्यापार, पर्यटन र सामाजिक आवागमनमा थप गति आउने अपेक्षा गरिएको छ।












