२७ श्रावण २०८३, बुधबार
Follow us :

भेडेटारको स्काइवाकमा दुई वर्षमै ३ लाखभन्दा बढी पर्यटक

कान्तिपुर प्रेस

धनकुटाको भेडेटारमा सञ्चालनमा रहेको ‘स्काइवाक’ पछिल्लो समय पूर्वी नेपालको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। पारदर्शी सिसामाथि हिँड्दै पहाड, हिमाल र तराईको मनोरम दृश्य अवलोकन गर्न पाइने भएपछि यहाँ पर्यटकको आकर्षण बढेको हो।

२०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको स्काइवाकमा दुई वर्षको अवधिमा ३ लाख ९ हजारभन्दा बढी पर्यटक पुगेका छन्। परियोजनाका अनुसार पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले स्काइवाकको अनुभव लिएका छन्। त्यसमध्ये करिब ३५ प्रतिशत भारतीय पर्यटक छन्।

समुद्री सतहबाट करिब १ हजार ४ सय मिटर उचाइमा रहेको स्काइवाकबाट सप्तकोशी नदी, पूर्वी तराईका फाँट तथा मौसम खुलेका बेला सगरमाथा, मकालु र कञ्चनजङ्घालगायत हिमशृंखला देख्न सकिन्छ। सूर्योदय र सूर्यास्तको दृश्यले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

स्काइवाकसँगै फ्री–फल जम्प र स्वीङजस्ता साहसिक गतिविधि सञ्चालनमा छन्। आगामी दिनमा स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले जानकारी दिएका छन्।

स्थानीय व्यवसायीका अनुसार स्काइवाक सञ्चालनमा आएपछि भेडेटारका होटल, रेस्टुरेन्ट तथा साना व्यवसायमा समेत चहलपहल बढेको छ। प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव लिन चाहने पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बनेको व्यवसायीहरूको भनाइ छ।

तर सञ्चालकहरूले कर तथा नवीकरण शुल्कका कारण परियोजना सञ्चालनमा चुनौती रहेको बताएका छन्। उनीहरूले पर्यटन पूर्वाधारमा निजी लगानी आकर्षित गर्न कर प्रणालीलाई लगानीमैत्री र व्यावहारिक बनाउनुपर्नेमा जोड दिएका छन्।

२७ श्रावण २०८३, बुधबार ०७:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०