मुस्ताङ — लगातारको भारी वर्षाका कारण पहिरो तथा कालीगण्डकी नदीको कटानले बेनी–जोमसोम–कोरला सडक प्रभावित बनेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले पूर्वसूचना लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बाढीपहिरो र नदी कटानका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेकाले मर्मतको काम भइरहेको जानकारी दिनुभयो। उहाँले रातिको समयमा बाढीपहिरोबाट मानवीय क्षति हुन सक्ने भन्दै सूचनाको पालना गर्न यात्रुलाई आग्रह गर्नुभयो।
गएरातिको वर्षापछि म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरी तथा अन्नपूर्ण गाउँपालिकाको सुकेबगर र महभिर क्षेत्रमा सडक अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा र बादरजुङ भीर आसपासमा समेत सडकमाथिबाट ढुङ्गा खस्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
मुस्ताङ आउने–जाने यात्रु तथा पर्यटकलाई घाँसा प्रहरी चौकीबाट सडकको अवस्थाबारे जानकारी दिने गरिएको छ। अत्यधिक वर्षाको पूर्वसूचनाका आधारमा पछिल्ला केही सातादेखि रातिको आवतजावतमा समेत कडाइ गरिएको छ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार ७६ किलोमिटर सडकखण्डमध्ये करिब २२ किलोमिटर क्षेत्र बाढीपहिरोको उच्च जोखिममा छ। भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–बनोटका कारण वर्षायाममा सडक अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो।











