काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक कटान हुँदा प्रमुख राजमार्ग तथा ग्रामीण सडकखण्डमा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा आवागमन प्रभावित भएको हो।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएपछि लिपिङ सडकखण्ड पनि बन्द भएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो गएपछि भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का खण्ड, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खस्दा बेँसीसहर–मनाङ सडक र मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोका कारण बेनी–जोमसोम सडक प्रभावित भएका छन्।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने र सडक भासिने क्रम जारी रहेकाले प्रहरीले यात्रुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











