तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का अव्यवस्थित बसोवासीले लालपुर्जा वितरण प्रक्रिया छिटो टुङ्ग्याउन माग गर्दै बुधबारदेखि वडा कार्यालयमा धर्ना सुरु गरेका छन्। लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरूले वडा कार्यालय घेराउ गर्दै दबाब दिएका हुन्।
स्थानीयवासीले नापी तथा प्रमाणीकरणको काम किन अघि नबढेको भन्दै वडाध्यक्षसँग स्पष्ट जवाफ माग गरेका छन्। अविलम्ब प्रक्रिया पूरा गरी लालपुर्जा वितरण नभए आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।
नगरप्रमुख कृष्णराज पण्डितले भूमिहीनलाई प्राथमिकता दिने राष्ट्रिय भूमि आयोगको मार्गनिर्देशन र जग्गाको स्वामित्व तथा भोगचलनसम्बन्धी जटिलताका कारण ढिलाइ भएको बताउनुभयो। नगरपालिका कानुनी प्रक्रिया पूरा गरी समस्या समाधानमा लागिरहेको उहाँको भनाइ छ।












